काठमाडौं । आइसिसी यु-१९ विश्वकपका लागि दक्षिण अफ्रिका पुगेको नेपाली युवा टिमले दोस्रो अभ्यास खेलमा नामिबियामाथि सनसनिपूर्ण रोमाञ्चक जित निकालेको छ।
बिहीबार राति सम्पन्न खेलमा नेपालले नामिबियालाई ६ रनले हराउँदै लगातार दोस्रो अभ्यास खेलमा जित हासिल गर्यो।
नेपालले पहिले ब्याटिङ गर्दै जितको लागि दिउको १ सय ४२ रनको सामान्य लक्ष्य पछ्याएको नामिबिया २९.५ ओभरमा १ सय ३५ रनमा अल आउट हुँदा नेपाल विजयी भएको थियो। नामिबियाका कप्तान बसिंग भोल्स्चेन्कले ४९ बलमा ४ चौका र ३ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय इनिङ खेलेका थिए। त्यस्तै मोफिटले १८ रन बनाए। नेपालका गुलशन झा र आकाश चन्दले समान ३-३ विकेट लिए।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ३० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४१ रन बनाएको थियो। बर्षाको कारण ढिलो सुरु हुँदा भएको खेल ३० ओभरमा झारिएको थियो। नेपालका लागि १० औं नम्बरमा ब्याटिङका लागि आएका दिपक डुम्रे २२ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक ३२ रनमा नट आउट रहे। त्यस्तै उत्तम थापा मगर १२ रन बनाउँदा आकाश त्रिपाठीले २१ तथा विशाल बिक्रम केसीले १४ र दिपक बोहराले १५ रन बनाए। नामिबियाका जे करिआटा, जेन्स रेन्सबर्ग र बडेन्हओरस्टले समान दुई विकेट लिए।
यसअघि नेपालले पहिलो अभ्यास खेलमा स्कटल्याण्डलाई १ सय ३५ रनले हराउँदा नेपालले अब १३ जनवरीमा स्कटल्यान्ड र १६ जनवरीमा वेस्टइन्डिजसँग वार्मअप खेल खेल्ने कार्यतालिका रहो छ। जनवरी १९ देखि फेब्रुअरी ११ सम्म हुने विश्वकपमा नेपाल समूह ‘डी’ रहेको छ । नेपालको समूहमा न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तान रहेका छन्।