माघ एक गतेदेखि मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ : खानेपानीमन्त्री यादव

माघ एक गतेदेखि मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ : खानेपानीमन्त्री यादव

२०८०, पौष २९ आइतवार

  • 669
    SHARES

  • माघ एक गतेदेखि मेलम्चीको पानी काठमाडौँमा वितरण हुन्छ : खानेपानीमन्त्री यादव

    काठमाडौँ । खानेपानीमन्त्री महिन्द्र राय यादवले आउँदो माघ एक गतेदेखि काठमाडौँमा मेलम्चीको पानी वितरण गरिने बताएका छन् । सुन्दरीजलस्थित मेलम्चीको पानी प्रशोधन केन्द्रको शनिबार अनुगमन तथा निरीक्षण गर्दै मन्त्री यादवले भने, “मेलम्चीको पानी सुन्दरीजलमा आइपुगेको छ, माघ एक गते बिहान नौ बजेदेखि काठमाडौँमा वितरण सुरु हुन्छ ।”

    उनले लक्ष्यभन्दा पहिले नै सुन्दरीजलमा पानी आइपुगेको बताए । अब बाह्रै महिना काठमाडौँमा मेलम्चीको पानी वितरण हुने दाबी गरे । काठमाडौँका विभिन्न ठाउँमा पानी वितरण हुने पाइप बिग्रिएकाले मर्मत र खानेपानी मिटर जडान गर्न उनले निर्देशन दिए । त्यस अवसरमा मेलम्ची खानेपानीको आपूर्ति निर्बाध रूपमा सुनिश्चित गर्न मेलम्ची खानेपानी विकास समितिका वरिष्ठ डिभिजनल इन्जिनियर पमदबहादुर कुँवरको संयोजकत्वमा एक समिति समेत गठन गरिएको थियो ।

    मेलम्चीको पानी माघ एक गतेदेखि अनामनगर, मीनभवन, महाँकालचौर, रिगनी, भक्तपुर, खुमलटार, बालाजु र बाँसबारी क्षेत्रमा क्रमिक रूपमा वितरण गरिने खानेपानी मन्त्रालयका सचिव सुरेश आचार्यले जानकारी दिए । उनले भने, “सिन्धुपाल्चोकको अम्बाथानबाट बुधबारदेखि सुरुङमा छाडिएको पानी सुन्दरीजल आइपुगेको छ, खानेपानीको परिमाण मापन गरी क्रमिक रूपमा काठमाडौँका सबै क्षेत्रमा वितरण गरिनेछ ।”

    सुन्दरीजलमा पानी जम्मा गरी ‘प्रेसर’ पुगेपछि यसलाई प्रशोधन गरिने र दुई दिनपछि वितरण गर्ने तयारी भइरहेको वरिष्ठ डिभिजनल इन्जिनियर कुँवरले बताए । बाढी तथा पहिरोका कारण अवरुद्ध भएको मेलम्चीको पानी बुधबार साँझदेखि फेरि आपूर्ति सुरु गरिएको हो । यही पुस ३ गते मेलम्ची खानेपानी विकास समिति र निर्माण व्यवसायी सिनो हाइड्रोबीच २८ दिनमा मेलम्चीको पानी काठमाडौँ ल्याउने गरी भएको सहमतिअनुसार बुधबार साँझदेखि सुन्दरीजलमा पानी आउन सुरु भएको सुन्दरीजल पानी प्रशोधन शाखाका प्रमुख दिपेश ढकालले जानकारी दिए ।

    मेलम्चीबाट दैनिक १७ करोड लिटर पानी काठमाडौँ आउने मेलम्ची खानेपानी विकास समितिका आयोजना निर्देशक जक्की अहमद अन्सारीले जानकारी दिए ।

    २०८०, पौष २९ आइतवार०८:३१:१४

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार