स्याङ्जा । कानुन न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले शिक्षा र स्वास्थ्य क्षेत्रमा बजेट अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
शनिबार स्याङ्जाको गल्याङ नगरपालिकाको आयोजनामा नगर उपप्रमुखसँग शिक्षक अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री गुरुङले सो कुरा बताउनु भएको हो ।
उहाँले भन्नुभयो “गल्याङ नगरपालिका शिक्षा क्षेत्रमा राम्रै ढंगले अगाडि बढेको भन्दै शैक्षिक क्रियाकलाप सञ्चालनका लागि आर्थिक सहयोग हुन्छ । यस क्षेत्रको जनप्रतिनिधि भएका कारण यहाँका नागरिकको हरेक समस्यामा केन्द्रित हुनु मेरो दायित्व हो । मन्त्री पद त आउँछ जान्छ, तर तपाईं हामी त भोलि मन्त्री नहुँदा पनि सँगै एकै ठाउँमा रहने हो ।”
“सजिलो परेको बेला सम्झिन पर्दैन, जहाँ अप्ठ्यारो पर्छ त्यहाँ मलाई सम्झनु, कुनैबेला धनराजको विरुद्धमा लेखेको थिए भनेर सम्पर्क गर्न हिचकिचाहट नगर्नु । राजनैतिक झण्डा बोकेका आधारमा काखा र पाखा गर्दिन । जुनसुकै आस्था र बिचार भएपनि अप्ठ्यारो परेको समयमा सम्पर्क गर्नुहोला ”, मन्त्री गुरुङले भन्नुभयो ।
कार्यक्रममा गण्डकी प्रदेश सांसद महेश भट्टराई, गल्याङ नगरपालिकाका नगर प्रमुख गुरुप्रसाद भट्टराई, नेपाली काँग्रेस गल्याङ नगर सभापति श्याम प्रसाद बस्याल, नेकपा एमाले गल्याङ नगरकमिटी सचिव राजेन्द्रदेब खनाल, नेकपा एकिकृत माओवादी गल्याङ नगर कमिटी अध्यक्ष चन्द्र बहादुर राना (चित्र) लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा गल्याङ नगरपालिका भित्रका सामुदायिक तथा नीजि विद्यालयका प्रअ तथा शिक्षिकाहरु गरि करिब ५०० शिक्षक शिक्षिकाहरुको सहभागिता रहेको थियो ।
गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपनेको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य गल्याङ नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख केदार राज आचार्यले गर्नुभएको थियो ।