बौद्ध । गंगेश्वर शिवपाञ्चायन मन्दिरमा शिवमहापुराण सम्पन्न भएको छ ।
काठमाडौंको बौद्ध, महांकाल, पानीट्यांकी नजिकै रहेको गंगेश्वर मन्दिर परिसरमा महाशिवरात्रिको अवसरमा एकदिवसिय शिवमहापुराण सम्पन्न भएको हो ।
वरिष्ठ पण्डित श्री रामकृष्ण आचार्यको मुखारविन्दबाट गरिएको कथा वाचन तथा अन्य धार्मिक अनुष्ठानमा करिव २ हजार भन्दा बढि भक्तजनको सहभागिता रहेको थियो ।

पुराणकै क्रममा काठमाडौं ३ का प्रतिनिधिसभा सदस्य मा.सन्तोष चालिसे, मा. विष्णुदेवी पुडासैनी, गोकर्णेश्वर नगर प्रमूख दिपक रिसाल, काठमाडौं महानगरपालिका वडा नं ६ का वडाध्यक्ष भुवन लामा, वडा सदस्यहरु भगवान थापा, देव बज्राचार्य, बौद्धनाथ क्षेत्र विकास समिति सदस्य श्याम खतिवडा लगाएतका अतिथिको आगमनले दिनभर नै कार्यक्रममा रौनकता थपेका थिए ।
बिहान ८ बजेबाट शुरु गरिएको कार्यक्रममा करिव डेढ दर्जन ब्राम्हणद्धारा वेद, चण्डी, रुद्री पाठपारायण गरि लाखवत्ती, हवनका साथ साँझ ६ बजे धुनि जगाई कार्य सम्पन्नता गरिएको थियो ।
अनुष्ठानकै क्रममा महानगर वडा ६ को सहयोगमा निर्मित हवन कुण्डको उद्घाटन वडा अध्यक्ष भुवन लामाले गरेका थिए ।

भक्तजनको ईच्छा तथा आकांक्षालाई कदर गर्दै क्षेत्रकै पवित्र प्राकृतिक तथा धार्मिकस्थलमा आयोजना गरिएको महापुराणले सबैलाई अत्यधिक खुशी दिलाएको मन्दिर व्यवस्थापन समिति अध्यक्ष डा रमेश न्यौपानेले बताए ।
प्रारम्भिक हिसाब अनुसार महापुराण संचालन गर्न रु ५ लाख ६२ हजार खर्च भएको डा न्यौपानेले बताए । जस अन्तर्गत काठमाडौं महानगरपालिका वडा नं ६ बाट रु ५० हजार रकम स्वीकृत भएको पनि उनको भनाई छ ।
भक्तजनबाट आएको केही चन्दा, दान, भेटी रकममा अपुग रकम मन्दिर व्यवस्थापन पदाधिकारीले नै बेहोर्ने गरि अगाडि बढिएको पनि मन्दिर व्यवस्थापनले जनाएको छ ।





