ललितपुर । प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चुनौतीहरू भए पनि जोखिम मोलेर सहकार्य र एकताको प्रक्रिया अगाडि बढाउनुपर्ने बताएका छन् ।
सोमबार बिहान ललितपुरको च्यासलमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको तेस्रो वार्षिक सभामा बोल्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।
उनले भने, ‘जोखिमहरू छन । जहिले पनि रहन्छन् । तर, जोखिमकै बीचबाट परिणाम दिने कुरा मुख्य हो । हामीले सहकार्यको प्रक्रिया अगाडि बढाएका छौँ । जोखिमकै बीचबाट यसलाई अगाडि बढाउनुपर्छ ।’
कार्यक्रममा नेकपाका संस्थापक नरबहादुर कर्माचार्यप्रति श्रद्धाञ्जली व्यक्त गर्दै प्रधानमन्त्रीले भने, ‘नरबहादुर कर्माचार्यप्रति हार्दिक श्रद्धाञ्जली र सम्मान व्यक्त गर्दछु। उहाँ सधैँ एकताको पक्षधर हुनुहुन्थ्यो। उहाँ विचारमा दृढ हुनुहुन्थ्यो। सरल, निष्ठावान, मिलनसार, विचार जीवित राख्ने प्रेरणाको स्रोत हुनुहुन्थ्यो। पछिल्लो समय उहाँसँग राम्रो सहकार्य भयो। राम्रो अभिभावकको भूमिका निभाउनुभयो।’’
प्रधानमन्त्रीले एक पटकको एकता प्रयोगमा असफल भयो भन्दैमा फेरि सहकार्य र एकताको प्रक्रियाबाट विमुख हुनु गलत हुने बताए ।
उनले भने,‘अघिल्लो एकता बचाउन सकिएन, तर एक पटकको प्रयोग असफल भयो भन्दैमा हामी त्यसबाट पछाडि हट्नु हुँदैन । समाजवाद चाहने जति कुनै न कुनै रूपको सहकार्य र एकताको पक्षमा उभिनुपर्छ । स्वाधीनताका निम्ति, वामपन्थी सहकार्यका निम्ति, आर्थिक सामाजिक रूपान्तरणका निम्ति जोखिम मोल्नैपर्छ ।’