एजेन्सी । इन्डियन प्रिमियर लिग(आइपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले ‘प्लेअफ’ सम्भावना कायम राखेको छ। शनिबार राति भएको खेलमा बैंगलोरले गुजरात टाइटन्सलाई ४ विकेटले पराजित गर्दै लगातार तेस्रो जित हासिल गर्यो। जितसँगै बैंगलोरु ८ अंकका साथ सातौं स्थानमा उक्लिएको छ।
एम चिन्नास्वामी स्टेडियममा शनिबार राति बैंगलोरले टस जितेर पहिले बलिङ रोजेको थियो। पहिले ब्याटिङका लागि मैदान उत्रिएको गुजरात १९.३ ओभरमा १ सय ४७ रनमा अलआउट भयो।
उक्त लक्ष्य बैंगलोरले १३.४ ओभरमै ६ विकेट गुमाएर पुरा गर्यो। स्वपनिल सिंहले रासिद खानको बलमा छक्का प्रहार गर्दै टिमलाई सहज जित दिलाए।
१ सय ४८ रनको लक्ष्य पछ्याउँदा उत्कृष्ट सुरुवात गरेको बैंगलोर मध्य क्रम धरासायि हुँदा संकटमा पर्ने आंकलन गरिएको थियो। तर पहिलो विकेटका लागि ९२ रनको साझेदारी उसलाई जितका लागि निर्णायक बन्यो।
कप्तान फाफ डुप्लेसिसले २३ बलमा १० चौका र ३ छक्काको सहयोगमा ६४ रन बनाउँदा विराट कोहलीले २७ बलमा ४२ रन बनाए। त्यसपछि क्रिजमा आएका विल ज्याक, रजत पटिदार, ग्लेन म्याक्सवेल र क्यामरुन ग्रिन चल्न सकेनन्।
तर दिनेश कार्थीक र स्वपनिल सिंहले सातौं विकेटक लागि ३५ रनको अविजित साझेदारी गर्दै टिमको जित निश्चित गरे। कार्थिक २१ रनमा अविजित रहँदा सिंह १५ रनमा नटआउट रहे। गुजरातका लागि जोस लिटिलले ४ विकेट लिंदा नुर अहमदले २ विकेट लिए।
त्यसअघि पहिले ब्याटिङ गरेको गुजुरात मध्य क्रमको प्रदर्शनका कारण मध्यम स्कोर बनाउन सफल भयो। उसका लागि राहुल टिवेटियाले ३५ रन बनाउँदा शाहरुख खानले ३७ तथा डेभिड मिलरले ३० रन बनाए।
थप दोहोरो स्कोरका रुपमा रसिद खानको १८ रन र विजय शंकरको १० रन रह्यो। बैंगलोरका लागि मोहम्मद सिराज, यश दयाल र विजयकुमार भ्यासकले समान २-२ विकेट लिए। त्यस्तै, क्यामरुन ग्रिन र कर्न शर्माले १-१ विकेट लिए।