काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि प्रदेशहरुले नीति तथा कार्यक्रम कार्यान्वयन गर्न २ खर्ब ७८ अर्ब ६७ करोड रुपैयाँ बराबरको कुल बजेट शनिबार सार्वजनिक गरेका छन्।
आआफ्नो प्रदेशसभामा सम्बन्धित प्रदेशका आर्थिक मामिलामन्त्रीहरुले चालू आवकै हाराहारीको बजेट प्रस्तुत गरेका हुन्।
संघीय सरकारले १ खर्ब बढाएर बजेट ल्याउँदा अधिकांश प्रदेशले भने घटाएका छन्। सातमध्ये पाँच प्रदेशको बजेट घट्दा बागमती र सुदूरपश्चिमले मात्र बढाएर ल्याएका छन्। प्रदेश सरकारले संघीय सरकारले दिने अनुदानमा कटौती र राजस्व उठ्ने लक्ष्य कम भएकाले बजेट कटौती गरेका हुन्।
चालू आवका लागि गत वर्ष सातै प्रदेशको कुल बजेट २ खर्ब ७९ अर्ब ६१ करोड रुपैयाँबराबरको थियो।
यस्तो छ प्रदेशगत विनियोजनः
कोसी प्रदेश: ३५ अर्ब २७ करोड ९३ लाख
कोसी प्रदेशले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट विनियोजन गरेको छ।
कुलमध्ये चालूतर्फ १४ अर्ब ४७ करोड २३ लाख, पुँजीगततर्फ १६ अर्ब २० करोड २० लाख र वित्तीय व्यवस्थापनतर्फ २ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ४ अर्ब ५८ करोड ५० लाख बजेट छुट्याएको छ ।
मधेस प्रदेश :४३ अर्ब ८९ करोड २१ लाख
मधेस प्रदेशले आगामी आवका लागि कुल ४३ अर्ब ८९ करोड २१ लाख रुपैयाँको बजेट प्रस्तुत गरेको छ।
कुलमध्ये चालूतर्फ १६ अर्ब ७ लाख १ हजार (३६.४५ प्रतिशत), पुँजीगततर्फ २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार (६३.५५ प्रतिशत) बजेट विनियोजन गरिएको छ ।
बागमती प्रदेश : ६४ अर्ब ५४ करोड ४ लाख
बागमती प्रदेश सरकारले आगामी आवको प्रदेश सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न कुल ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजारको बजेट विनियोजन गरेको छ।
कुलमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार, पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार र वित्तीय व्यवस्थातर्फ १ अर्ब ५० करोड विनियोजन गरिएको छ।
गण्डकी प्रदेश : ३२ अर्ब ९७ करोड
गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड बराबरको बजेट सार्वजनिक गरेको छ।
बजेटमा चालूतर्फ १३ अर्ब १६ करोड र पुँजीगततर्फ १९ अर्ब ५१ करोड विनियोजन गरिएको छ।
लुम्बिनी प्रदेश : ३८ अर्ब ९७ करोड
लुम्बिनी प्रदेश प्रदेश सरकारले सरकारको नीति तथा कार्यक्रम कार्यान्वयन गर्न ले कुल ३८ अर्ब ९७ करोड बजेट ल्याएको छ ।
कुल मध्ये चालू तर्फ ११ अर्ब २४ करोड, पुँजीगत तर्फ २४ अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन र ३ अर्ब १४ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
कर्णाली प्रदेश : ३१ अर्ब ४१ करोड
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ४१ करोड ४१ हजार बजेट सार्वजनिक गरेको छ।
जसमा चालूतर्फ सात अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात् २४.१२ प्रतिशत र पुँजीगततर्फ १८ अर्ब ७५ करोड आठ लाख ६८ हजार ५९.७ प्रतिशत रहेको छ।
सुदूरपश्चिम प्रदेश : ३१ अर्ब ६२ करोड
सुदूरपश्चिम सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट ल्याएको छ ।
चालू तर्फ ११ अर्ब ७ करोड र पुँजीगत तर्फ १७ अर्ब ५३ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ।