काठमाडौँ । इङ्ल्याण्डलाई पराजित गर्दै भारत आइसिसी टि–२० विश्वकप २०२४ को फाइनलमा प्रवेश गरेको छ ।
गुयनामा गए राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा इङ्ल्याण्डलाई ६८ रनले हराउँदै भारत विश्वकपको फाइनमा पुगेको हो । यससँगै अब भारतले उपाधिका लागि दक्षिणअफ्रिकासँग खेल्नेछ ।
यसअघि भएको पहिलो सेमिफाइन खेलमा दक्षिणअफ्रिकाले अफगानिस्तानलाई नौ विकेटले हराउँदै विश्वकपको फाइनलमा पुगेको हो ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार खेलमा टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै एक सय ७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो ।
जवाफमा इङ्ल्याण्ड १६ दशमालव चार ओभरमा सबै विकेट गुमाउँदै एक सय तीन रनमा समेटिएको थियो ।
बिहीबार राति सम्पन्न दोस्रो सेमिफाइनल खेलमा भारतले साविक विजेता इंग्ल्यान्डलाई ६८ रनले हराउँदै फाइनलमा तेस्रो पटक स्थान बनाएको हो । दक्षिण अफ्रिका पहिलो पटक फाइनल पुगेको हो । फाइनल खेल शनिबार राति सवा ८ बजे बार्बाडोसमा हुनेछ । भारत सन् २००७को च्याम्पिपयन र २०१४ को उपविजेता टोली हो ।
जारी विश्वकपमा दुबै टोली अपराजित रहँदै फाइनलमा पुगेका हुन् । दक्षिण अफ्रिका ८ र भारत ७ खेलमा अपराजित छन् । समूह ए मा भारतले आयरल्यान्डलाई ८ विकेट, पाकिस्तानलाई ६ रन र अमेरिकालाई ७ विकेटले हराएको थियो । क्यानडासँग वर्षाको कारण अंक बाँड्न पुगेको थियो ।
सुपर–८ मा भारतले अफगानिस्तानलाई ४७ रन, बंगलादेशलाई ५० रन र अष्ट्रेलियालाई २४ रनले हराएको थियो ।
उता दक्षिण अफ्रिकाले समूह चरणमा श्रीलंकालाई ६ विकेट, नेदरल्यान्ड्सलाई ४ विकेट, नेपाललाई १ रन र बंगलादेशलाई ४ रनले हराउँदै समूह विजेता बनेको थियो । सुपर सिक्समा इंग्ल्यान्डलाई ७ रन, वेष्टइण्डिजलाई ३ विकेट र अमेरिकालाई १८ रनले हराएको थियो ।
यससँगै फाइनल खेल रोचक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ ।