काठमाडौं । आज साउने संक्रान्ति पौराणिक परम्परा अनुसार स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर देशैभर मनाईँदैछ ।
सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रूपमा मनाउने प्राचीन परम्परा छ । साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरु हुन्छ ।
माघ १ गते सुरु हुने उत्तरायण र साउन १ गते सुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ । आज बेलुका नै लुतो फालेर रोग व्याधि नआओस् भनेर कामना गर्दै विशेष पूजा गर्ने चलन पनि चल्दै आएको छ ।
परम्पराअनुसार कागभलायो, कुरिलो, कुकरडाइनो, लुतेझार, सहरो, पानीअमला, कागती, अम्बा, नास्पाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फाल्दै लुतो लैजा भन्ने गरिन्छ ।
यस अवसरमा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन छ ।
यस्तै, साउन महिनालाई विशेषरुपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । देशभरका शिवालय विशेष गरी हलेशी, पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्छ ।
महिलाले हरियो चुरा, मेहन्दी लगाएर साउन महिनाभर विशेष अवसरको रुपमा रमाउने चलन छ ।
पशुपतिनाथ मन्दिरमा साउन महिनामा हुने भक्तजनको भिडभाड व्यवस्थापनको सबै तयारी गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।
अन्य महिनाको तुलनामा साउन महिनामा पशुपतिनाथ मन्दिरमा भक्तजनहरुको बढी भिड लाग्ने गर्दछ । साउने सोमबारका व्रतालु र बोलबमका श्रद्धालुहरुले शिवको विशेष भक्तिपूर्वक पूजा गर्ने भएकाले पशुपति मन्दिरमा साउनमा घुइँचो लाग्दछ ।
साउन महिनाभर पशुपतिनाथ मूल मन्दिरका चारैवटा ढोका बिहान तीन बजेदेखि नै खुला गरिने छ । कोषले असार १ गतेदेखि पशुपतिनाथका चारै ढोका भक्तजनका लागि खुला गर्न थालेको थियो ।
यस वर्ष साउन महिनाभर पशुपति क्षेत्रमा कोटी होम र शिवपुराण पाठ परायणलगायतका कार्यक्रम आजबाट शुरु हुँदैछन् । यसका लागि सम्पूर्ण तयारी पूरा गरिएको आयोजकले बताएका छन् ।