आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

२०८१, श्रावण २ बुधवार

  • 697
    SHARES

  • आज हरिशयनी एकादशी, तुलसीको बिरुवा सारिँदै

    काठमाडौँ । हिन्दु धर्मावलम्बीद्धारा आषाढ शुक्ल एकादशीका दिन आज घरघरमा तुलसीको बिरुवा सारी गरिने विशेष पूजा आराधना गरिँदैछ ।  

    एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । 

    आज अर्थात आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको भनाईरहेको छ । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा पनि भनिन्छ । 

    वर्षभरि पूजाआराधना गरि चोखोनितो गर्न नसक्नेले हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन विशेषरुपमा फलाहार गरी व्रत बस्ने गर्छन् । 

    हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बुढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत फलाहार गर्ने गरिन्छ । 

    चार महिनासम्म विधिपूर्वक पूजा आराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ । तुलसी र दामोदरको विधिपूर्वक विवाहपछि अग्नि स्थापना विधिबाट चर्तुमासा व्रतको उद्यापनका लागि हवनसमेत गरिन्छ ।

    २०८१, श्रावण २ बुधवार०९:४७:५८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार