काठमाडौं । भारी वर्षाका कारण मंगलबार बिहानदेखि काठमाडौं उपत्यकाका जलमग्न भएको छ । गएरातिदेखिको अविरल वर्षाका कारण काठमाडौँका विभिन्न बस्तीमा बाढी पसेको छ । वर्षाका कारण उपत्यकावासीहरूको जनजीवन प्रभावित बनेको छ ।
हाल काठमाडौंका बागमती नदीमा बाढी बढेको छ । विशेषगरी, हनुमन्ते खोलाको जगाती, खोड्कु खोलाको झरुवा रासी, बागमती नदीको खोकना बाढी मापन केन्द्रमा बाढीको सतह चेतावनीको तहसम्म पुगेको छ ।
यसैगरी, सडकमा पानी जम्दा पैदलयात्रुहरु समस्यामा परेका छन् । सवारी साधनको आवागमन प्रभावित बनेको छ ।
भारी वर्षा हुँदा बनस्थलीको मिलिजुली टोल, स्वयम्भुको सानो भर्याङ तथा ठुलो भ(याङ क्षेत्र डुबानमा परेको छ। यस्तै, काठमाडौँ महानगरका अनुसार बल्खुको तरकारी बजार, कुलेश्वरको फलफूल बजार तथा सुकुम्बासी बस्तीमा बाढी पसेको छ । माछापोखरी क्षेत्रमा मेलम्ची खानेपानी आयोजनाको पाइपलाइन समेत फुटेर थप डुबान भएको छ । कीर्तिपुर ६ चोभारमा पहिरोले हेटौँडा बल्खु सडक अवरुद्ध भएको छ ।
माइतीघर, लैनचौर, पुतलीसडक, स्वयम्भु, कोटेश्वर, केशरमहल क्षेत्र जलमग्न भएकाले सवारी आवागमन प्रभावित भएको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
उपत्यकाको ललितपुरको गोदावरीमा अत्याधिक वर्षा भएको छ । पछिल्लो ६ घण्टामा गोदावरीमा ८०।२ मिलिमिटर वर्षा भएको छ । यसैगरी ललितपुरको लेलेमा ५७।८ मिलिमिटर वर्षा भएको छ ।