काठमाडौं । मित्र राष्ट्र भारतको ७८ औं स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान गरिएको छ ।
शुक्रवार काठमाडौंको मित्रपार्क स्थित मातापिता सेवा सदनका ८० जना बृद्धबृद्धाका विच शुभकामना आदान प्रदान गरिएको हो । यद्यपि मातापिता सेवा सदन बृद्धाश्रम भने होइन ।

विहान ११ बजे सेवा सदनमा आई भजनकिर्तन तथा रमाइलो गरि बेलुका ४ बजे आ -आफ्नो घर फर्किने नयाँ मोडेलको मातापिता सेवा सदनमा पुगी नेपाल भारत मैत्रीसंघ काठमाडौं जिल्ला शाखाले बृद्धबृद्धालाई जलपान समेत गराएको छ ।
घरमा सबै सदस्य छन् तर तातोपानी खाने बाआमा ? भनेर सोध्ने चलन हराउँदै गएकोमा मैत्रीसंघ केन्द्रीय सहअध्यक्ष शैलेन्द्र मोहन झाले चिन्ता व्यक्त गरेका थिए । बा-आमाको स्वास्थ्य उपचारको लागि विभिन्न प्याकेज बनाएर हेल्थ क्याम्प संचालन हुने जानकारी झाले जनाए ।

विशेष प्रकृतिको सेवासदन भएकाले आगामी दिनमा थप सहयोग बढाउँदै लगिने काठमाडौं अध्यक्ष जानुका कार्की गिरीले बताइन् ।
कार्यक्रममा मैत्री संघ केन्द्रीय उपाध्यक्ष लोकेन्द्र श्रेष्ठ, महासचिव बोधकृष्ण सुवेदी, केन्द्रीय सदस्य कमला ढुंगेल, देवी सुवेदी, विना सिन्हा एवं सल्लाहकार शान्ता नराल, तारा पन्थी, सेवा सदन अध्यक्ष नर्वदा पोखरेल, काठमाडौं महानगरपालिका वडा नं ७ का अध्यक्ष बिमल हाडा लगायतको उपस्थिति रहेको थियो ।

आमाबुबासँग रमाइलो गरि शुभकामना आदानप्रदान गर्न पाउँदा रोमाञ्चित महशुस भएको उपाध्यक्ष गिता भट्टराईले स्वागत मन्तव्यका क्रममा बताइन् ।
