भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिलाई विपद् जोखिम तालीम

भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिलाई विपद् जोखिम तालीम

२०७७, माघ ७ बुधवार

  • 2.9K
    SHARES

  • भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधिलाई विपद् जोखिम तालीम

    माघ ७, काठमाडौँ ।

    भूकम्प प्रभावित जिल्लाका जनप्रतिनिधि र कर्मचारीलाई विपद् जोखिम न्यूनीकरणसम्बन्धी तीन दिने कार्यशाला सम्पन्न भएको छ ।

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको आयोजनामा भएको कार्यक्रममा सिन्धुपाल्चोकका छ, दोलखा र भक्तपुरका एक/एक स्थानीय तह सहभागी भएका थिए । 

    सिन्धुपाल्चोकका पाँचपोखरी थाङ्पाल, बलेफी, भोटेकोशी, लिसङ्खुपाखर, सुनकोशी र त्रिपुरासुन्दरी गाउँपालिका, दोलखाको बैत्येश्वर गाउँपालिका एवं भक्तपुरको चाँगुनारायण नगरपालिकाका प्रमुख तथा उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र महिला सदस्य गरी ३२ जनाको कार्यशालामूलक तालीममा सहभागिता थियो । 

     समापन कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै प्राधिकरणका सहसचिव भरतप्रसाद अर्यालले भूकम्प गएको पाँच वर्ष पार गर्दासमेत लाभग्राही पहिचान नसकिएकाले अनगुमनमा जान लागिएको बताए ।

    भूकम्पबाट क्षति भएका ७८ हजार घर प्रबलीकरण लाभग्राही सूचीमा परेकामा बन्न नसकेकाले पुनर्निर्माण लाभग्राही सूचीमा जान चाहनेलाई निवेदन दिन आह्वान गरेअनुरुप १९ हजार ९८७ ले इच्छा व्यक्त गरेको जानकारी पनि उनले दिएका छन् ।
     
    पुनर्निर्माण भएका विद्यालय पहिराको जोखिममा
     
    चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले भूकम्पले भत्किएर पुनर्निर्माण भएका नगर क्षेत्रका १० विद्यालय पहिराको जोखिममा परेकाले वर्षाअगावै पर्खाल नलगाए क्षति हुनसक्ने भएकाले प्राधिकरणको पटकपटक ध्यानाकर्षण गराइएको बताए ।

    भूकम्पले भत्किएका विद्यालय पुनर्निर्माणका लागि करोडौँ रुपैयाँ बजेटको व्यवस्था गरिए पनि शौचालय, खेलमैदान र पुस्तकालयजस्ता संरचना कार्यक्रममा नराखिँदा बनाउने बजेट व्यवस्थापन गर्न नसकिएको उनको भनाइ थियो । 

    नगरकोटको कालिका र चुनादेवी, चाँगुनारायणको दोलागिरी मावि, सुडालको वाल्मीकेश्वर माविलगायत विद्यालय पुनर्निर्माण सम्पन्न भएपछि पहिराको जोखिम रहेको नगरपालिकाले जनाएको छ ।

    जेठसम्ममा रिटेनिङ वाल लगाउने गरी बजेटको व्यवस्था गर्न माग गरिएको छ । नगरपालिकाको उच्च भागमा पहिरो र समथर भागमा डुबान एवं कटानको समस्या छ ।

    चाँगुनारायण नगरपालिकाले विपद् जोखिम न्यूनीकरणका लागि आवश्यक ऐन, नियम एवं नीति निर्माण गरेको छ । विपद् जोखिम न्यूनीकरणका कानून बनाउन चाँगुनारायण देशमै नमूना बनेकाले गुहमन्त्रालयको सिफारिसमा अन्य स्थानीय तहका जनप्रतिनिधि एवं कर्मचारीसमेत कानून लिन आउने गरेको नगर प्रमुख मिश्रले जानकारी दिए । 

     सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष दुर्गादेवी नेपालले विपद् कोष खडा गरिए पनि विपद् पूर्वयोजना बनाउन गाउँपालिका चुकेको महसुस तीन दिने कार्यशालापछि आफूलाई भएको बताए । 

    यसलाई अब सुधार गर्ने प्रतिबद्धता उनको थियो । भूकम्प पीडित अझै लाभग्राही सूचीमा सूचीकृत हुन छुटेकामा समावेश गराउन त्रिपुरासुन्दरी गाउँपालिकाले अनुरोध गर्दै आएको छ ।

     सिन्धुपाल्चोककै पाँचपोखरी थाङ्पाल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले यस वर्ष वर्षात्का समयमा गाउँपालिकाको केन्द्र थाङ्पालधाप जाने सडकसमेत अवरुद्ध भएपछि खेतबाट वैकल्पिक बाटो बनाउनुपरेको अनुभव सुनाए । कार्यशालाले क्षमता, ज्ञान खुलाउने काम गरेको उनको भनाइ थियो ।

     प्राधिकरणका विपद् जोखिम व्यवस्थापन विज्ञ मधुसुदन गौतम भूकम्प प्रभावित ३२ जिल्लाका २८२ वटै स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीलाई तालीमका रुपमा कार्यशाला भइरहेको बताए ।

    जनप्रतिनिधिलाई तीन दिन र कर्मचारीलाई पाँच दिनको कार्यक्रममा सहभागी गराई विपद्पछि क्षति कम गर्ने प्रयास भइरहेको जनाइएको छ ।

    २०७७, माघ ७ बुधवार०७:०९:१९
    प्रतिक्रिया
    सम्बन्धित समाचार