प्रचण्डले नेकपाको मूल नेतृत्व र नीतिलाई मान्नुपर्छ –नेता भट्टराई

 प्रचण्डले नेकपाको मूल नेतृत्व र नीतिलाई मान्नुपर्छ –नेता भट्टराई

२०७७, मंसिर १३ शनिवार

  • 3.3K
    SHARES

  •  प्रचण्डले नेकपाको मूल नेतृत्व र नीतिलाई मान्नुपर्छ –नेता भट्टराई

    मंसिर १३, काठमाडौं ।

    नेकपा अहिले गम्भिर संकटबाट गुज्रिरहेको छ । पार्टी एकताको काम नसकिदै,एकता महाधिवेशनको तयारी नहुदै पार्टी एकता नै भङ्ग होला कि भन्ने चिन्ता अहिले सर्वत्र छाएको छ । यही मेसोमा नेकपाका एक नेता निर्मल भट्टराईसंग हामीले कुराकानी गरेका छौं । उक्त कुराकानीको सारसङ्क्षेप यहाँ प्रस्तुत गरिएको छ ।

    नेकपामा विवाद झन गहिरिंदै गएको देखिन्छ । पार्टी एकता भंग नै हुने त होइन ?
    एउटा जीवन्त पार्टीमा विवाद हुनु त त्यति अस्वभाविक होइन, तर अहिलेको विवादचाहिं सिर्जनात्मकभन्दा पनि ध्वंशात्मक रुपमा अगाडि बढेको आभास सबैतिर भएको छ । वर्तमान विवाद वैचारिक र संगठनात्मक विषयमा नभै सानातिना प्राविधिक विषयमा जुँगाको लडाईंको रुपमा गहिरिदै गएको देखिन्छ । तर मलाई लाग्दैन, बाहिरबाट विवाद जतिसुकै गहिरो देखिए पनि यसले पार्टीलाई एकता भंग गर्ने तहमा पुर्याउछ । किनभने, कथंकदाचित् एकता भंग भयो भने पुरानै अवस्थामा फर्कने कमरेड प्रचण्ड र वहाँका सहयोगी नेताहरूलाई सबभन्दा बढी घाटा हुन्छ ।

    वहाँले माओवादी विचार र संगठन विघटन गरेर वहाँकै शब्दमा आफूले तरेर आएको पुल भाँचेर एकतामा आउनु भएको हो । यति सामान्य राजनीति वहाँजस्तो मुर्ध्यन्न राजनीतिज्ञ र वहाँका निकटस्थ नेताहरुलाई थाहा नहुने कुरा भएन । आधारभूत तहसम्म जनतामा आधारित राम्रो संगठन भएको तत्कालिन एमालेसंग एकताले वहाँ र वहाँले नेतृत्व गरेको तत्कालिन माओवादी केन्द्रका अरु नेताहरू छोटो समयमा राम्ररी घुलमिल र समायोजन हुने जो अपेक्षा गरिएको थियो, दुर्भाग्यवश त्यो हुन सकेन । चिनी र पानीजस्तो घुलमिल हुने जो अपेक्षा गरिएको थियो, तर तेल र पानीजस्तो घुलमिल नभै बसिरह्यो । पार्टीभित्र  भिन्न पार्टीको अभ्यास भईरह्यो । 

    गुलावको फूल साटासाट गरेर, एउटा जहाजको दुई पाइलट कहलाइएका पार्टी अध्यक्षद्वयविच अहिले देखिएको आरोप-प्रत्यारोपले कुनै पनि बेला एकता भंग हुने सम्भावना देख्नुहुन्न तपाईं ?
    तपाईंले राम्रो प्रशङ्ग उठाउनु भयो, पार्टी एकता गर्दा नेताहरूवीच जति न्यानोपन थियो, त्यो अहिले हराउदै गएको देखिन्छ । अध्यक्षद्वयवीचको सहकार्यले हिजो जति ठूल्ठूला उपलब्धि पार्टीलाई दिएको थियो, आजको वैमनश्यताले आज प्राप्त उपलब्धि पनि गुम्ला कि भन्ने डर समेत पैदा भएको छ । अझ अगाडि बढेर वहाँहरू लिखित रुपमै आरोप(प्रत्यारोपमा उत्रनाले यस्ता अनेकन आशंका पैदा भएका छन् ।

    पार्टी अध्यक्ष तथा प्रधानमन्त्री के पी शर्माविरुद्ध अर्का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले एकाएक गत सचिवालय बैठकमा आरोप-पत्र पेश गरेपछि एउटा तरङ्ग पैदा भएको थियो नै, कुनै कमिटीमा छलफल नै नभई, सहमतिको प्रयासै नभई आफू खुसी आफ्ना विचारलाई पुस्तिकाको रुपमा वितरण हुन थालेपछि अर्को सुनामी आएको छ ।विधि, पद्धतिको माग गर्नेले नै विधि पद्धतिको गम्भिर उलङ्घन गरेपछि  सर्वत्र आश्चर्यसमेत व्यक्त भएको छ ।

    तपाईंलाई राम्ररी थाहा छ,अहिलेको नेकपा तत्कालिन एमालेले विकास गरेका राम्रा विचार, सांगठानिक शैली र परम्पराले चल्ने हो, असफल भएका तत्कालिन माओवादी केन्द्रका शैली पद्धतिको आधारमा होईन । त्यसकारण, पहिलोपटक संगठनमा निश्चित अनुपातमा भागबण्डा भए पनि विचार, शैली, विधि, पद्धति र परम्परामा अनुपातिक भागबण्डा गर्न सकिदैन ।

    सोचेभन्दा ढिलो भयो होला, तर कमरेड प्रचण्ड र अरू तत्कालिन माओवादी केन्द्रका नेताहरू तत्कालिन एमालेको वैचारिक सांगठानिक विरासतमा समायोजन नभई यो एकताको कोर्स पूरा हुदैन । अनि एकताको कोर्स पुरा नभई एकता भंग वा पार्टी विभाजन भन्दै जनतामा जाने नेतालाई कसले पत्याउछ ?  विगतमा पार्टी विभाजनको रहर गर्ने बामदेव, बाबुराम, किरण र विप्लवको हुर्मत त सबैले देखेकै छन् नि ! यस्तो अवस्थमा को नेकपाको एकता भंग वा पार्टी विभाजनको विनासको बाटोतर्फ लाग्छ ? जानी जानी प्रचण्डलगायतका नेताहरू त्यता लाग्नुहुन्न । 

    पार्टीको पछिल्लो विवादमा को बढी दोषी देख्नुहुन्छ तपाईं ?
    हेर्नुस्, गएको स्थायी समितिको बैठकले पार्टी अध्यक्ष के पी शर्मा ओलीलाई सरकारको काममा बढी केन्द्रित हुने र अर्का अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड'लाई पार्टीको काममा केन्द्रित हुने गरी सहमति भएको थियो । पार्टीको एकता महाधिवेशन तोकिसकिएको सन्दर्भमा पार्टीका अनगिन्ती काम छोटो समयमा सम्पन्न गरिसक्नु पर्ने अवस्था थियो । तर त्यता पटक्कै ध्यान नदिई कमरेड प्रचण्ड त सरकार कमजोर बनाउने र पार्टीको मूल नेतृत्व एवम् प्रधानमन्त्रीलाई प्रतिपक्षभन्दा निकै कदम अगाडि बढेर खुईल्याउन सक्रिय हुनुभयो ।  बाहिर आउन नपाउदै गगन थापा र बाबुराम भट्टराईले वहाँको उक्त आरोप-पत्रलाई मुक्त कण्ठले प्रशंसा गर्नुले यही प्रमाणित गर्छ । वहाँ त्यो स्थायी समितिको निर्णयमा ईमान्दार हुनुभएन । त्यसकारण यो पछिल्लो प्रकरणमा कमरेड प्रचण्ड बढी दोषी देखिनुभयो । 

    नेकपाको वर्तमान संकटको निकासचाहिँ के हुन सक्छ ?
    मलाई के लाग्छ भने हरेक पार्टी नीति, नेतृत्व, संगठन र समर्थनले बनेको हुन्छ । नीति र नेतृत्वमा भद्रगोल भयो भने संगठन र समर्थन हराउदै जान्छ । त्यसकारण, नीति र नेतृत्वलाई सबैले सम्मान र आत्मसात गर्न सक्नु पर्छ । नेकपाको अहिलेको नीति मदन भण्डारीले तय गरेको जबजको नीति नै हो र मुल नेतृत्व के पी ओली नै हो । यो वास्तविकतालाई नेकपाका सबैले बुझ्नुपर्छ, कमरेड प्रचण्डले त झन बढी बुझ्नुपर्छ, आत्मसात गर्न सक्नुपर्छ । सबैलाई थाहा छ, कमरेड प्रचण्डले विगतमा बम बारुद खेलाएर आउनु भएको हो । तर बम बारुदभन्दा मानिस चलाउन कठिन रहेछ भन्ने मात्र वहाँलाई अनुभूति हुन सक्यो भने नेकपाको धेरै समस्या हल भैहाल्छ । 

    २०७७, मंसिर १३ शनिवार०७:१४:०४
    प्रतिक्रिया
    सम्बन्धित समाचार