सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च, प्रतिसेकेन्ड ६ लाख ४३ हजार क्युसेक

सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च, प्रतिसेकेन्ड ६ लाख ४३ हजार क्युसेक

२०८१, आश्विन १३ आइतवार

  • 621
    SHARES

  • सप्तकोशीमा पानीको बहाव ५६ वर्षयताकै उच्च, प्रतिसेकेन्ड ६ लाख ४३ हजार क्युसेक

    इनरुवा । सप्तकोशी नदीमा पानीको बहाव ५६ वर्षयताकै उच्च रहेको छ ।

    आज बिहान ७ बजे गरेको मापनअनुसार कोशी ब्यारेज भएर सप्तकोशीको बहाव प्रतिसेकेन्ड ६ लाख ६१ हजार ५ क्युसेक रहेको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ ।

    यसअघि कोशी ब्यारेज भएर अहिलेसम्मकै बढी सन् १९६८ अक्टोबर ५ तारिखमा पानीको बहाव प्रतिसेकेन्ड सात लाख ८८ हजार दुई सय क्युसेक मापन गरिएको थियो ।

    शनिबार बेलुका १०ः२५ बजे सप्तकोशीको पानीको बहाव प्रतिसेकेण्ड ६ लाख २० हजार क्युसेक मापन गरिएको थियो ।

    कोशी ब्यारेज कन्ट्रोल रुमले गएराति ११ बजे दिएको जानकारीअनुसार जलसतह खतरा तहभन्दा ११ दशमलव २६ मिटरमाथि पुगिसकेको र अझ बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन अनुरोध गरिएको जनाएको छ ।

    पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेजको सबै ५६ ढोका खोलिएका छन् ।

    सप्तकोशी नदी जलसतह खतरा तहभन्दा माथि पुगेको र अझै बढ्दो क्रममा रहेकाले उदयपुर, सुनसरी र सप्तरीका बाढीबाट कटान हुनसक्ने क्षेत्र तथा डुबान हुने होचा भूभागमा नबस्न र उच्च सतर्कताका साथ सुरक्षित स्थानमा जान सप्तकोशी चतरा जलमापन केन्द्रले सूचना जारी गरेको छ ।

    लगातार पानीको बहाव बढ्दै गएपछि कोशी ब्यारेज भएर मानिस र सवारीसाधनलाई अर्को सूचना जारी नहुञ्जेलसम्मका लागि आवागमन बन्द गरिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी दिए ।

    शनिबार बिहान ६ बजे कोशी ब्यारेज कन्ट्रोल रुमले प्रतिसेकेन्ड तीन लाख ३६ हजार १० क्युसेक पानीको बहाव मापन गरेको थियो ।

    नदीमा पानीको बहाव बढेर शनिबार साँझ ८ः०० बजे प्रतिसेकेन्ड चार लाख १८ हजार दुई सय ८५ क्युसेक, शनिबार राति १२ः०० बजे प्रतिसेकेन्ड पाँच लाख सात हजार ६ सय ९० क्युसेक तथा आज बिहान २ः०० बजे प्रतिसेकेन्ड ६ लाख ३२ हजार २८५ क्युसेक पानीको बहाव मापन गरिएको थियो ।

    २०८१, आश्विन १३ आइतवार०९:३३:१८

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार