एनपीएलले विश्वमा नेपालको व्यापक प्रचार : नेपाली क्रिकेटको लोकप्रियता झन् उचाइमा, प्लेअफ चरण रोमाञ्चक हुने अनुमान

एनपीएलले विश्वमा नेपालको व्यापक प्रचार : नेपाली क्रिकेटको लोकप्रियता झन् उचाइमा, प्लेअफ चरण रोमाञ्चक हुने अनुमान

२०८१, पौष २ मंगलवार

  • 597
    SHARES

  • एनपीएलले विश्वमा नेपालको व्यापक प्रचार : नेपाली क्रिकेटको लोकप्रियता झन् उचाइमा, प्लेअफ चरण रोमाञ्चक हुने अनुमान

    काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट प्लेअफ चरणमा पुगेपछि अझ रोचक बन्ने देखिएको छ । हालसम्म सम्पन्न २८ वटा खेलका नतिजाले आगामी खेलहरुले नेपालमा क्रिकेटको लोकप्रियतालाई झन् उचाइमा लैजाने स्पष्ट छ । 

    नेपालका सबै प्रदेशको प्रतिनिधित्व गरेका आठ टोलीमध्ये चार टोली शीर्ष स्थानमा पुगेका छन् । यसमध्ये सर्वाधिक १२ अंक हासिल गर्न सफल सुदूरपश्चिम रोयल्स तथा अंक तालिकामा १० अंक प्राप्त गरेर दोस्रो स्थानमा पुगेको जनकपुर बोल्डसबीच पुस ३ गते बुधबार दिउँसो प्रतिस्पर्धा हुँदैछ ।

    शीर्ष दुई स्थानमा पुगेका यी दुई टोलीबीच क्वालिफायरमा भिडन्त हुन लागेको हो । यसमा जित्ने टोली फाइनलमा पुग्नेछ । सुदूरपश्चिम र जनकपुर दुवै टोलीले अत्यधिक म्याच जितेकाले दुवै टोलीका खेलाडीहरुमा उच्च मनोबल रहेको पाइएको छ । दुवै टोलीले प्रतियोगिता जित्ने दाबी गर्दै आएका छन् । 

    सुदूरपश्चिम टोलीका कप्तान दीपेन्द्रसिंह ऐरीले शुरुदेखि नै उपाधि जित्ने बताउँदै आएका थिए । विश्वको सर्वोच्च शिखर सगरमाथाको कालापत्थरको ढुंगा अंकित ट्रफी आफ्नो प्रदेशमा लैजान सफल हुने कप्तान ऐरको आत्मविश्वास रहेको छ ।

    एनपीएलको पहिलो म्याचमा विराटनगर किंग्सलाई सहज रुपमा पराजित गरेर आफ्नो बलियो उपस्थिति देखाएको जनकपुर टोलीका कप्तान अनिल शाह पनि मधेश प्रदेशमा ट्रफी भित्र्या दृढ रहेका छन् ।

    यी दुवै टोलीले विगतका म्याचहरुमा ब्याटिङ, बलिङ प्रदर्शन गर्दै दर्शकहरुको मन जितेका छन् । एनपीएल क्रिकेटमा खेल्न विभिन्न कीर्तिपुर मैदानमा दिनहुँ भइरहेको दर्शकहरुको भीडले गर्दा अत्यन्त लोभिएका छन् । 

    सुदूरपश्चिम तथा जनकपुरको म्याच भएको बखत कीर्तिपुर मैदानमा दर्शकको संख्या अत्यधिक हुने गरेकाले बुधबारको खेलमा पनि दर्शक व्यवस्थापन चुनौती हुन सक्ने आकलन गरिएको छ । सुदूरपश्चिम टोलीका समर्थकहरुले देउडा तथा जनकपुरका समर्थकहरुले स्थानीय भाखामा नाचगान गरेर माहौल रमणीय बनाउँदै आएका छन् । 

    खेलमा पूर्वानुमान गर्न कठिन हुन्छ । एनपीएलमा सशक्त उपस्थिति देखाएको सुदूरपश्चिम तथा जनकपुर जस्तो टोलीलाई पराजित गर्न सफल चितवन राइनोज टोली अहिले अंकको आधारमा तेस्रो स्थानमा रहेको छ । बुधबार बिहान समान ८ अंक प्राप्त गरेको चितवन राइनोज तथा कर्णाली याक्सबीच खेल हुँदैछ ।

    तर काठमाडौं गुर्खाजले पनि समान आठ अंक हासिल गरे तापनि रनरेटका आधारमा प्लेअफबाट बाहिरिनु पर्यो । लिग चरणमा चितवन टोली कर्णालीसँग सात रनले पराजित भएतापनि अब हुने ‘इलिमिनेटर’ प्रतिस्पर्धा चितवन र कर्णाली टोलीका लागि महत्वपूर्ण मानिएको छ । क्वालिफायरमा पराजित हुने टोलीसँग इलिमिनिटरमा जित्ने टोलीले खेल्नेछ । विजयी हुने टोलीका लागि फाइनलको ढोका खुल्ला हुनेछ ।
     
    नेपालीलाई सफलता

    एनपीएलमा हालसम्म सबैभन्दा बढी विकेट अतिथि खेलाडी स्कट कुगेलेइनले १३  लिन सफल भएका छन् । त्यसपछि नेपालका ललित राजवंशी र रिजन ढकालले समान १३ विकेट लिएर आफ्नो क्षमतालाई प्रदर्शन गरेका छन् । करण केसीले भने १२ विकेट लिएका थिए । यसैगरी सर्वाधिक २७९ रन रोहित पौडेलले लिन सफल भएका छन् ।

    उनी पछि सर्वाधिक रन लिनेमा अतिथि खेलाडीहरु छन् । तर नेपाली खेलाडीहरुले पनि सयौं रन लिन सफल भएका छन् । सर्वाधिक रन लिनेको सूचीमा चौंथो स्थानमा रहेका नेपाली कुशल मल्लले २०२ रन तथा दीपेन्द्रसिंह ऐरीले १९८ रन लिन सफल भएका छन् ।

    न्युजिल्यान्डबाट एनपीएल खेल्न आएका दिनेश खरेलले १६२ रन तथा अष्ट्रेलियाबाट आएका किशोर महतोले १० विकेट लिएर विदेशबाट खेल्न बोलाइएका नेपालीहरुको सशक्त उपस्थिति देखाएका छन् । अवसरको खोजीमा विभिन्न मुलुकमा रहेका नेपाली क्रिकेटरहरुलाई नेपाल क्रिकेट संघ ९क्यान० ले स्वदेशमा पहिलोपटक आयोजित एनपीएल खेल्न बोलाएर उनीहरुको प्रतिभाको कदर गरेको छ । 

    यसरी नेपाली तथा विभिन्न मुलुकका चर्चित क्रिकेट खेलाडीहरुले एकै टोलीमा रहेर खेलिरहेको यो प्रतियोगिता उपलब्धिमूलक बनिरहेको छ । प्रतियोगितामा नेपाली युवा खेलाडीहरुलाई पनि खेल्ने अवसर दिइएबाट उनीहरु प्रोत्साहित हुन पुगेका छन् ।

    खुल्ला प्रतिस्पर्धाबाट छनोट भएका युवा प्रतिभाहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरुसँग एउटै टोलीमा रहेर खेल्न पाउनु सानो अवसर होइन । एनपीएल क्रिकेटमा खेल्न विभिन्न मुलुकबाट आएका क्रिकेट स्टारहरु कीर्तिपुर मैदानमा दिनहुँ भइरहेको दर्शकहरुको भिडले गर्दा लोभिएका छन् । 

    कीर्तिपुरमै बास

    कीर्तिपुर खेल मैदानको वरिपरि ओछयान लगाएको पनि देखिन्छ । मैदान प्रवेशद्वार नजिक खानेकुराका साथै अन्य सामग्री बेच्नका लागि ठाउँ ओगट्न व्यापारीहरु खुल्ला आकाशमै सुत्ने गरेका छन् ।

    तापक्रम घटेर जाडो बढिरहेको समयमा पनि कीर्तिपुरमा भने क्रिकेटप्रेमीहरुको बिहान सबेरैदेखि घुइँचो लाग्ने गरेको छ । टिकट किनेर चिसो चौरमा बस्दै क्रिकेट हेर्दा पनि दर्शकहरुको उत्साहमा भने कमी देखिएको छैन । काठमाडौं बाहिरका केही टोलीले म्याच हेर्न काठमाडौं आउनका लागि निःशुल्क बसको व्यवस्था गरेर खेलप्रेमीहरुलाई हौसला दिएका छन् । कीर्तिपुर मैदानमा दर्शकहरुले गरेका फोहोर सफा गर्ने काममा पनि क्रिकेटप्रेमी युवाहरुले सक्रियता देखाएका छन् । 

    खेलाडी पर्यटक बन्दै

    नेपालमा एनपीएलका लागि अनुबन्ध भई आएका विश्व प्रसिद्ध क्रिकेट खेलाडीहरुको नेपालको गतिविधिले विदेशमा नेपालको प्रचार भइरहेको छ । उनीहरुले विभिन्न भागको भ्रमण गरेर नेपालको पर्यटन प्रवर्धन गरेका छन् । भारतका चर्चित क्रिकेट खेलाडी शिखर धवनले पहिलो पटक एनपीएलमा खेल्न नेपाल आएर सगरमाथा आधार शिविरको भ्रमण गर्न समेत भ्याएका थिए ।

    कर्णाली याक्सका तर्फबाट ४ वटा खेलपछि स्वदेश फर्किएका धवनले सगरमाथा क्षेत्रमा बिताएको क्षणका तस्वीर तथा समाचार विभिन्न अन्तर्राष्ट्रिय माध्यमले समेत महत्त्व दिएर प्रकाशित गरेका थिए । एनपीएल क्रिकेट हेर्न नेपाल आएका विश्व विख्यात क्रिकेटर ब्रायन लाराको नेपाल भ्रमणले पनि विश्वमा नेपाललाई चिनाउन मदत गरेको छ । उनले पनि सगरमाथा क्षेत्रको भ्रमण गरेका थिए ।

    कमेण्टेटरको कमाल

    एनपीएल क्रिकेट प्रतियोगिताको प्रत्यक्ष प्रशारणको माध्यमबाट विश्वमा नेपालको व्यापक रुपमा प्रचार भइरहेको छ । एक्सन स्पोर्ट्स अन्तर्राष्ट्रिय टेलिभिजनले क्रिकेट प्रतियोगिताका साथै नेपालको पर्यटन प्रवर्धन पनि गरिरहेको छ । क्रिकेटको प्रत्यक्ष प्रशारणमा विश्वमै ख्याति कमाएका कमेण्टेटरहरुले दिनहुँजसो नेपालको हिमाल, कला संस्कृति तथा जनजीवनका बारेमा मुक्त कण्ठले प्रशंसा गरिरहेका छन् ।

    उनीहरुले अंग्रेजी भाषामा नेपाली खाजा मःमःदेखि भक्तपुरको जुजु धौ समेतको बारेमा विश्वको विभिन्न देशमा प्रचार गरिरहेका छन् । बेलाबेलामा ड्रोनको माध्यमबाट देखाइने गरिएको काठमाडौं उपत्यकाको रमणीय दृश्यले भविष्यमा पर्यटक बढाउन महत्वपूर्ण योगदान गर्ने अपेक्षा गरिएको छ । 

    आगामी दिनको सम्भावनाको ढोका खोल्न पनि योगदान गरिरहेका छन् । तर  नेपालमा सयौं टेलिभिजन भएता पनि एनपीएल हेर्न विदेशी च्यानलको भर पर्नुपर्ने तथा पर्ने तथा अंग्रेजी नबुझ्नेहरुका लागि खेलका गतिविधि बुझ्न कठिनाइ भइरहेको छ ।

    २०८१, पौष २ मंगलवार१०:५७:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार