पार्टीलाई समुदाय केन्द्रित बनाउनुपर्नेमा नेपाली काँग्रेसका महामन्त्री थापाको जोड

पार्टीलाई समुदाय केन्द्रित बनाउनुपर्नेमा नेपाली काँग्रेसका महामन्त्री थापाको जोड

२०८१, पौष १८ बिहिवार

  • 581
    SHARES

  • पार्टीलाई समुदाय केन्द्रित बनाउनुपर्नेमा नेपाली काँग्रेसका महामन्त्री थापाको जोड

    चितवन । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टीलाई नेता केन्द्रित नभइ समुदाय केन्द्रित बनाउनुपर्नेमा जोड दिनुभएको छ ।

    प्रा डा यज्ञप्रसाद अधिकारीको जीवन सङ्घर्षका बारेमा लेखिएका लेखहरूको सङ्ग्रह “लोकतान्त्रिक समाजवादका भास्यकार प्राडा यज्ञप्रसाद अधिकारी” नामक पुस्तकको आज यहाँ विमोचनपछि सम्बोधन गर्दै उहाँले राजनीतिक दलहरू समाज केन्द्रित हुनुपर्ने समय आएको बताउनुभएको हो ।

    उहाँले भन्नुभयो “जीवनभर काँग्रेसमा काम गरेका नेताहरूको आशिर्वाद लिँदै सामाजिक क्षेत्रमा लाग्नुपर्ने समय आएको छ ।” काँग्रेसका पुराना पुस्ताको सम्मान गर्दै समाज केन्द्रित हुन सकेमा युवापुस्ताको आकर्षण बढ्ने उहाँले बताउनुभयो । उहाँले थप्नुभयो, “पार्टी संरचनालाई सत्तासँग जसरी जोडेका छौँ त्यसरी नै समाजमा फर्काउन आवश्यक छ ।”

    कार्यक्रममा नेपाली काँग्रेसका पूर्व केन्द्रीय सदस्य गुरूराज घिमिरेले प्रा डा अधिकारीले जीवनमा देश र पार्टीका लागि पुर्याउनु भएको योगदानको चर्चा गर्नुभयो । सो अवसरमा अधिकारीका भाइ प्रकाश अधिकारीले आफ्नो दाजुले लोकतान्त्रिक समाजवादका लागि प्राज्ञिक क्षेत्रबाट पुर्याउनु भएको योगदान र उहाँको जीवनीका बारेमा जानकारी गराउनुभयो ।

    प्रजातन्त्र संवर्द्धन केन्द्रका अध्यक्ष डा जगदीश पोखरेलको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेस चितवनका सभापति राजेश्वर खनाल, समीक्षक रामबाबु घिमिरे, डा गोपाल शिवाकोटी, भुवन थपलिया अधिकारीले पुस्तक र प्रा डा अधिकारीका बारेमा आफ्नो धारणा राख्नुभएको थियो । थपलियाले पुस्तकको संयोजन गर्नुभएको हो भने प्रा डा नारायणप्रसाद खनालले सम्पादन गर्नुभएको हो ।

    पुस्तक प्रजातन्त्र सम्वर्द्धन केन्द्रले प्रकाशन गरेको हो । ६७ वटा लेख एवं कविता पुस्तकमा समावेश छन् । ती सबै प्रा डा अधिकारी र लोकतन्त्रसँग सम्बन्धित छन् । पाँच सय २८ पृष्ठको पुस्तकको मूल्य रू ७०५ राखिएको छ । विसं २००९ चैत २३ गते पर्वतमा जन्मिनुभएका अधिकारीले नेपाली काँग्रेसको विदेश नीतिमा विद्यावारीधि गर्नुभएको छ । उहाँका १० वटा पुस्तक प्रकाशित छन् ।

    २०८१, पौष १८ बिहिवार०९:०३:२९

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार