काठमाडौं । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान नेपाल–चीन सिमाना तिब्ब्त केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो ।
काठमाडौंमा पनि भूकम्पको धक्का महसुस भएको छ । मंगलबार बिहान ६ बजेर ५१ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का काठमाडौं उपत्यकासहित नेपालका धेरै जिल्लामा महसुस भएको छ। काठमाडौं लगायत धादिङ, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर लगायतका अधिकांस जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।
भूकम्पको धक्काले काठमाडौंका नागरिकहरु सडकमा निस्किएका छन् । यसको धक्का बंगलादेश, नेपाल, भारत, भुटान र चीनमा महसुस गरिएको छ । यसको केन्द्रबिन्दु चीनको तिब्बत प्रान्तको दिङ्गे काउन्टी रहेको छ ।दिङ्गे काउन्टी दक्षिण नेपालको सङ्खुवासभा र ताप्लेजुङ तथा दक्षिणपूर्वमा भारतको सिक्किम राज्यसँग सीमा जोडिएको छ ।
केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले नेपालको पूर्वी सीमाबाट उत्तरतर्फ करिब एक सय किलोमिटर टाढा दिङ्गेमा शक्तिशाली भूकम्प गएको बताउनुभयो ।
केन्द्रले छदेखि आठ रेक्टरस्केलको भूकम्पलाई शक्तिशाली भूकम्प भन्ने गरेको छ । नेपालमा विसं २०७२ वैशाख १२ गते सात दशमलव छ रेक्टर स्केलको गोरखा केन्द्रबिन्दु भएर भूकम्प गएको थियो । केही समयदेखि पश्चिम नेपालमा निरन्तर स–साना भूकम्प गइरहेको छ ।
भूकम्पको क्षतिको विवरण भने आइसकेको छैन । स्थानीय प्रशासनले विवरण संकलनको काम गरिरहेका छन् ।