काठमाडौँ। संविधान संशोधनको चर्चा चल्न थालेपछि क्षेत्रीय पार्टीको रुपमा संघर्षरत मधेश केन्द्रित दलहरू पुनः एक ठाउँमा उभिने प्रयासमा जुटेका छन् ।
मधेशका मुद्दामा साझा धारणासहित मोर्चा बनाउने केन्द्रित दलहरूको तयारी भनिए पनि पुनः सत्ता स्वार्थ केन्द्रीत भएर एकठाउँमा जम्मा भएका राजनीतिक विश्लेषकहरुको आरोप छ ।
आवरणमा संविधान संसोधनको मुद्धा बनाए पनि सत्ता हत्याउन नेकपा माओवादी केन्द्रको पहलमा बैठक भेला हुन थालेका सरोकारवालाले जनाएका छन् । मोर्चा निर्माण गर्ने गरी मंगलवार बैठक बसेपनि मोर्चा निर्माणको खाका, उद्देश्य र साझा एजेन्डा तय गर्ने एजेन्डासहित बसेको बैठकले ठोस निर्णय भने लिएन ।
तर, गठबन्धन घोषणा गर्नुअघि आआफ्ना दलभित्र गम्भीर छलफल चलाउने समझदारीमा पुगेको नेताहरूले जानकारी दिए ।
बैठकको संयोजन हाल हृदयेश त्रिपाठी नेतृत्वको जनप्रगतिशील पार्टीले गरेको थियो । यस अघि त्रिपाठी नेकपा एमालेको समर्थनमा निर्वाचित भए पनि अघिल्लो निर्वाचनमा सर्मनाक हार बेहोरेका थिए । त्रिपाठी नेपाललाई टुक्र्याउने गरि उत्तेजित भाषण दिने अर्थात भड्कावको राजनीतिमा प्रमूख मानिन्छन् ।
मोर्चामा जनता समाजवादी, लोकतान्त्रिक समाजवादी, जनमत, जनप्रगतिशील, राष्ट्रिय मुक्ति मोर्चा, लमलोपाका नेताहरू रहने गरि छलफल चलिरहेको छ । जसपा नेपाल भने बैठकमा सहभागी भएन । बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह पनि सहभागी थिए ।
यद्यपि मधेश केन्द्रित मुद्दाहरूमा एकजुट भई राजनीतिक शक्ति निर्माण गर्ने उद्देश्यले कार्यदलले काम गरिरहेको दलहरूले जनाएका छन् ।