काठमाडौं । नेपाल शिक्षक महासंघले सह अध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा वार्ताटोली तयार गरेको छ । पराजुली नेकपा माओवादी केन्द्र समर्थित अखिल नेपाल शिक्षक संगठन सँग आबद्ध शिक्षक हुन् ।
सरकारले चैत्र २१, २२ र २७ गते गरेर तीन पटक वार्तामा बोलाईसक्दा पनि महासंघ वार्तामा गएको छैन । सडकबाटै ऐन जारी गर्नेभन्दै 'कि जितिन्छ, कि वितिन्छ' को नारामा महासंघ चैत्र २० गतेदेखि सडक आन्दोलनमा छ ।
आन्दोलन शुरु भएको ८ औं दिनमा पनि संवाद, वार्ता शुरु नभएको भन्दै अधिकांश शिक्षक क्रुद्ध बनेका छन् । विद्यार्थी भर्नाको समयमा आमशिक्षक हड्ताल आव्हान गरेर महासंघले आफ्नो जागिर नै धरापमा पारेको भन्दै शिक्षक कर्मचारी गुनासो व्यक्त गर्नथालेका छन् । संस्थागत विद्यालय भरिभराउ हुँदा सामुदायिक विद्यालय सुनसान बनेका छन् ।
खास गरि नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले मंगलवार दिएको भाषणले आन्दोलन नै धरापमा पर्दै गएको शिक्षकको गुनासो छ ।
सरकारमा रहेको दलले ऐन ल्याउन प्रभावकारी भुमिका खेल्न पर्नेमा माओवादी लगायत प्रतिपक्षी नेताहरु खासगरि प्रचण्डको बोलीमा लोली मिलाउँदै सरकार परिवर्तन गर्ने सम्म आफ्नो तागत रहेको गिरीको भाषणले पुनः आन्दोलन 'हात्ती आयो हात्ती आयो फुस्स' त हुने हैन शंका व्यक्त गरेका छन् ।
त्यस्तै, वार्ता टोलीको संयोजकमा पराजुलीलाई अगाडी सार्नुमा कतै न कतै सरकारलाई झुकाउने नाउँमा आफैं पासोमा त पर्ने हैनन् शिक्षकले शंका गरेका छन् ।