अमेरिका र चीनबीच बढ्दो ‘ब्यापार युद्ध’ बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै देशका टेक कम्पनीहरूको दबाब थेग्न नसकेपछि सर्वाधिक उच्च कारोबार हुने इलेक्ट्रोनिक उपकरणको नयाँ आयत शुल्कहरूमा छुट दिने निर्णय गरेका छन्।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ‘पारस्परिक’ भन्सार महसुल अन्तर्गत रहेका स्मार्टफोन, कम्प्युटर लगायतका केही अन्य इलेक्ट्रोनिक उपकरणहरूलाई भन्सार शुल्कहरू स्थगन गरेको जनाएका छन्।
यसमा चीनबाट आयात गरिने वस्तुहरूमा लगाइएको १२५५ सम्मको महसुल पनि समावेश छ। शुक्रबार साँझ अमेरिकी भन्सार तथा सीमा सुरक्षा कार्यालय (युएस कस्टम्स एन्ड बोर्डर पेट्रोल) ले एक सूचना प्रकाशित गर्दै यस्ता सामानहरू ट्रम्पले अधिकांश देशहरूका लागि तोकेको १०५ ग्लोबल भन्सार र चीनबाट आयात हुने वस्तुहरूमा लगाइएको उच्च महसुलबाट मुक्त हुने जानकारी दिएको हो।
यो कदम अमेरिकी प्रविधि कम्पनीहरूले व्यक्त गरेका चासोहरूलाई सम्बोधन गर्दै आएको जनाइएको छ। चीनमा निर्माण हुने ग्याजेटहरूको मूल्य तीव्र रूपमा बढ्न सक्ने सम्भावना र यसले अमेरिकी अर्थतन्त्रलाई पुर्याउन सक्ने उच्च क्षतिका कारण ट्रम्प पछि हटेको जनाइएको छ।
चीनमाथि ट्रम्प प्रशासनले लगाएको महसुलमा आएको यो पहिलो उच्च छूट हो, र एक व्यापार विश्लेषकले यसलाई ‘गेम चेन्जर सिनारिय’ का रुपमा टिप्पणी गरेका छन्।
५ अप्रिलदेखि प्रभावकारी हुने गरी अमेरिकाले स्मार्टफोन, चिप, सोलार सेल, सेमिकन्डक्टर, मेमोरी कार्ड लगायतका विभिन्न इलेक्ट्रोनिक उपकरण र कम्पोनेन्टहरूलाई चीनमाथि लगाइएका उच्च भन्सार महसुलबाट छूट दिएको हो।
‘यो प्रविधि लगानीकर्ताहरूका लागि सपना जस्तै परिदृश्य हो’ वेडबश सेक्युरिटीजका ग्लोबल टेक रिसर्च प्रमुख ड्यान आइभ्सले एक्स (ट्विटर) मा लेखेका छन्।
‘स्मार्टफोन र चिपहरूलाई चीनमाथिको महसुलबाट हटाउनु एकदमै निर्णायक मोड हो।’ उनले थपे ‘यसले एप्पल, एनभिडिया, माइक्रोसफ्ट जस्ता ठूला प्रविधि कम्पनीहरू र पुरै प्रविधि उद्योगले अब सास फेर्न पाउने छन् र यसले ठुलो राहत महसुस गराएको छ।’
यद्यपि ह्वाइट हाउसले यो छुट दिर्घकालिन नहुने संकेत गरेको छ। उसले यी छुटहरू कम्पनीहरूलाई उत्पादन अमेरिका भित्र सार्न समय दिनका लागि गरिएको जनाएको छ।
‘राष्ट्रपति ट्रम्पले प्रष्ट पारिसक्नुभएको छ कि अमेरिका अब सेमिकन्डक्टर, चिप, स्मार्टफोन र ल्यापटपजस्ता अत्यावश्यक प्रविधिहरूको लागि चीनमा भर पर्न सक्दैन,’ प्रेस सेक्रेटरी क्यारोलिन लिविटले भनेकी छिन्।
उनका अनुसार यी कम्पनीहरू सकेसम्म चाँडो आफ्ना उत्पादनहरू अमेरिका भित्र ल्याउन जुटिरहेका छन्। ट्रम्प अहिले फ्लोरिडास्थित आफ्नो घरमा छन् र उनले शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै चीनमाथिको उच्च महसुल ठीक लागिरहेको र यसले सकारात्मक परिणाम निस्कनेमा विश्वस्त रहेको बताएका थिए।
यद्यपि, यी इलेक्ट्रोनिक वस्तुहरू अझै पनि चीनसँग सम्बन्धित फेन्टानाइलसम्बन्धी २०५ महसुलमा भने पर्ने छन्। यदि यो महसुल कायम रहेको भए एप्पलका आईफोनहरूको मूल्य अमेरिका भित्र तीन गुणासम्म बढ्न सक्थ्यो ।
काउन्टर पोइन्ट रिसर्चका अनुसार एप्पलले गत वर्ष अमेरिका भित्र भएको स्मार्टफोन बिक्रीको आधाभन्दा बढी हिस्सा ओगटेको थियो। र तीमध्ये करिब ८०५ आईफोनहरू चीनमा उत्पादन गरिएका थिए, बाँकी २०५ भारतमा निर्माण गरिएका थिए।
सामसङले जस्तै एप्पलले पनि पछिल्ला केही वर्षयता चीनमाथिको निर्भरता घटाउँदै आपूर्ति सञ्जाललाई विविधिकरण गर्न खोजिरहेको छ। भारत र भियतनाम प्रमुख नयाँ उत्पादन केन्द्रको रूपमा देखा परेका छन्।
चीनमाथि उच्च महसुल लागेपछि एप्पलले भारतमा उत्पादन बढाउने प्रयास तीव्र पारेको बताइएको छ। ट्रम्पले यो हप्ता विभिन्न देशहरूमा उच्च भन्सार महसुल लगाउने तयारी गरेका थिए।
तर बुधबार उनले चीनबाहेक सबै देशका लागि ९० दिनका लागि घोषित आयत शुल्क स्थगन गरेका थिए। एजेन्सी ।