काठमाडौ । नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले पत्रकारलाई सरकार ढल्ने र बन्ने तिर भन्दा पनि सातबुदेँ कार्यान्वयन तिर ध्यान दिन आग्रह गर्नुभएको छ ।
शनिवार स्याङ्जा पत्रकार समाज नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले भन्नुभयो, 'अहिले जहाँ गएपनि पत्रकारको प्रश्न सरकार कहिले ढल्छ भन्ने गर्नुहुन्छ । मैले पत्रकारहरुलाई आग्रह गर्छु सरकार कहिले ढल्छ होइन सातबुदेँ कहिले कार्यान्वयन हुन्छ भन्ने प्रश्न गर्नुस् ।'
उहाँले भन्नुभयो, 'यो सरकार इतिहासकै बलियो सरकार हो,ढल्ने परिकल्पना गर्न सकिदैन ।' देशलाई स्थायित्व प्रदान गर्न अहिलेको सरकार बनेको भन्दै जनताको पक्षमा काम नगर्ने छुट यो सरकारलाई नभएको उहाँको भनाई थियो ।
कार्यक्रममा बोल्दै उहाँले स्याङ्जाको लाइफलाइनको रुपमा रहेको सिद्धार्थ राजमार्ग अबको निति तथा कार्यक्रममा सम्बोधन हुने भन्दै त्यसको लागि बजेट समेत विनियोजन हुने बताउनुभयो ।
सिद्धार्थ राजमार्गको बिषयमा अर्थमन्त्रीसँग पटकपटक कुरा भएको छ भन्दै गुरुङले भन्नुभयो, अहिलेको नीति तथा कार्यक्रममा पनि पर्छ र त्यसको लागि बजेट पनि विनियोजन हुन्छ ।
शिक्षकको आन्दोलनको बिषयमा राय राख्दै उहाँले ऐन पसलबाट समान किने जस्तो नहुने बताउनुभयो । उहाँले भन्नुभयो, ुुशिक्षकहरु यतिबेला सडकमा हुनुहुन्छ,ऐन लिएर मात्रै जाने भन्नुहुन्छ,ऐन पसलमा समान किने जस्तो होइन । 'ऐन छिटो जारी गर्न रातदिन काम गरेको भन्दै संशोधन धेरै परेको हुँदा अल्लि ढिला भएको भन्दै ऐन जारी गर्ने काम तीब्र रुपमा अगाडि बढेको बताउनुभयो ।' देशको पुरै शिक्षा क्षेत्र मिलाउन कानुन बनाउदा सबैको राय समेटेर बनाउनुपर्ने भन्दै शिक्षा ऐन आउन अल्लि ढिला भएको धारणा उहाँले राख्नुभयो ।