काठमाडौँ । नेपाली कांग्रेसका वरिष्ठ नेता डा. शेखर कोइरालाले सरकारभित्रको भ्रष्टाचार र गठबन्धन सरकारको नैतिक पतनप्रति चिन्ता व्यक्त गरेका छन्।
मंगलवार बिहानै फेसबुकमार्फत सरकारप्रति व्यंग्य गर्दै कोइरालाले बिहानै मन्त्रीक्वाटरमा बिचौलियाले घुसको ब्रिफकेस छाड्ने गरिएको आरोप लगाएका छन्।
‘यस्तै रहेछ यहाँको चलन,’ भन्दै उनले लेखेका छन्, ‘मन्त्रीक्वाटरमा बिहानै आएर बिचौलियाले घुसको ब्रिफकेस छाड्छन्, आफ्नो विरुद्धमा प्रमाण जुटेपछि बर्खास्त हुनुपर्नेमा प्रधानमन्त्रीसँग मिठा कुरा गरेर मन्त्रीपरिषद बैठकमा भाग लिन्छन्।’
कोइरालाको टिप्पणी प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका केही मन्त्रीहरू घुस प्रकरणमा तानिए पनि अहिलेसम्म कुनै कारबाही नहुँदा आएको हो।
यसै सन्दर्भमा उनले विपक्षी दल र सत्ता साझेदारहरूलाई समेत आलोचना गरेका छन्। कोइरालाले भनेका छन्,’सदनमा विपक्षी कर्मकाण्डी राजीनामा माग्छन् तथा गठबन्धनका सहयात्री हामी नेपाली कांग्रेस भने ‘साक्षी किनाराका सदर’ भएका छौं।’
उनको यो भनाइले कांग्रेसभित्रकै असन्तोष प्रकट गर्नुका साथै सत्ता गठबन्धनको नैतिक धरातलमाथि गम्भीर प्रश्न उठाएको छ।
सरकार र दलहरूबिचको मौन सहमतिबाट भ्रष्टाचार मौन रूपमा संस्थागत हुँदै गएको संकेत कोईरालाले गरेका छन्।