काठमाडौँ । प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, विज्ञान तथा प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक पारित भएको छ।
समितिको बिहीबारको बैठकले विधेयक पारित गरेको हो। विधेयकमा नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले भने फरक मत राखेका छन्।
माओवादीले निजी विद्यालयले प्रदान गर्ने छात्रवृत्तिसम्बन्धी व्यवस्थालाई उपसमितिले गरेको निर्णयबमोजिम समावेश गर्नुपर्नेलगायतका विषयमा फरक मत राखेको छ भने रास्वपाले आवाससहितको पूर्ण छात्रवृत्तिको व्यवस्था हुनुपर्नेलगायत ३ बुँदे फरक मत राखेको छ।
राप्रपाकी सांसद बिना जैसवालले निजी विद्यालयलाई गैरनाफामूलक बनाउन नहुने भन्दै पार्टीका तर्फबाट फरक मत राखेकी छन्। यद्यपि अन्य विषयमा भने सर्वसम्मतिले विधेयक पारित भएको छ ।