काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले जेन–जी युवाहरुका माग पुरा गर्न नसक्ने बताएका छन्।
सोमबार सिंहदरबारस्थित मन्त्रालयमा जेन–जी २.० ले बुझाएको ज्ञापन पत्र ग्रहण गर्दै उनले यस्तो भनेका हुन्। उनले कतिपय मागहरु पूरा गर्न नसक्ने किसिमका रहेको भन्दै अब आगामी निर्वाचनबाट युवा जिताएर ल्याउन र आफ्नै सरकारबाट सबै मागहरु पूरा गर्न आग्रह गरे।
उनले आफै निर्वाचनमा भाग लिएर जितेर आई मागहरु पूरा गर्न आग्रह गरे। मन्त्रालय आउँदै मन्त्रीलाई ज्ञापनपत्र बुझाएर माग पूरा नहुने भन्दै आफै गाउँ फर्किएर निर्वाचनमा भाग लिए निर्वाचन जितेर आएर आफ्नै सरकार बनाई माग पूरा गर्न आग्रह गरे। केही मागहरु भने विचार गर्न सकिने मन्त्री पुनको भनाइ छ।
उनले भने, ‘अब यो तिमीहरुको सबै माग पूरा गर्ने हो भने तिमीहरु आफै चुनाव लड्ने, सरकार बनाउने, यसपछि कुरा आफैले गर्ने। योभन्दा अर्को उपाय छैन। यहाँ क्यामेरा तेर्साएर बस्ने होइन। यस्तो किसिमको माग मन्त्रालय आउँदै, मन्त्रीलाई माग राख्ने होइन, आफै गाउँगाउँमा जाने हो। तिमीहरुको माग मात्रै पूरा गरेर हुन्छ ? मेरो पनि त माग पूरा गर्नुपर्ने हुन्छ। अब जेन–जीका भाइबहिनीहरु काठमाडौँ बस्न छोडेर सबै आफ्नो गाउँमा जाने, युवा नेताहरु ल्याउने र यस्ता किसिमका मागहरु पूरा गर्ने। केही मागहरु विचार गर्न सकिन्छ, सबै माग पूरा गर्न सकिँदैन।’
जेन–जी २.० ले १६ वर्षको उमेरमा एसइई पास गरी सिटिइभिटीमा पढेर देश विदेशमा काम गरी जीविका चलाउन तथा देश विकासमा योगदान गर्न चाहने विद्यार्थी र देशको भविष्यसँग जोडिएको प्राविधिक शिक्षाका निम्न समस्याहरुको समाधान १ हप्ताभित्र गर्न अल्टिमेटम दिएको छ।