एजेन्सी । चीनले ताइवानलाई चारैतिरबाट घेरेर सोमबारदेखि उच्च स्तरीय विशाल सैन्य अभ्यास सुरु गरेको छ। ताइवानको स्वतन्त्रता पक्षधर शक्तिहरूलाई ‘गम्भीर चेतावनी’ दिँदै चीनले जल, थल, आकाश र रकेट बलसहितका सैन्य इकाईहरूको ब्यापक परिचालन गरेर उच्च स्तरको शैन्य अभ्यास गरेको हो।
चीनको इस्टर्न थिएटर कमान्ड’ले ‘जस्ट मिसन २०२५’ नाम दिइएको यो अभ्यास ताइवान स्ट्रेटसहित टापुका पाँचवटा रणनीतिक क्षेत्रहरूमा केन्द्रित गरेको जनाइएको छ।
चिनियाँ जनमुक्ति सेनाका प्रवक्ता शी यीका अनुसार यो अभ्यासको मुख्य लक्ष्य समुद्री र हवाई युद्धको तयारीका साथै ताइवानका मुख्य बन्दरगाहहरूको नाकाबन्दी गर्ने क्षमताको परीक्षण गर्नु भएको बताए। चीनले यसलाई आफ्नो राष्ट्रिय सार्वभौमसत्ता र एकता रक्षाका लागि चालिएको एक वैध कदमका रूपमा व्याख्या गरेको छ।
स्थानीय समय अनुसार बिहान साढे आठ बजेदेखि सुरु भएको यो अभ्यासका क्रममा तोकिएका क्षेत्रहरूमा १० घण्टासम्म हवाई र समुद्री आवागमनमा पूर्ण प्रतिबन्ध लगाइएको छ। ताइवान सरकारले चीनको यो कदमलाई ‘सैन्य धम्की’ भन्दै यसको कडा भर्त्सना गरेको छ।
ताइवानकी राष्ट्रपतीका प्रवक्ता कारेन कुओले चीनले अन्तर्राष्ट्रिय कानुन र मर्यादाको धज्जी उडाउँदै हिन्द(प्रशान्त क्षेत्रको शान्ति र स्थिरतालाई खुला रूपमा चुनौती दिएको जानकारी दिएको बताइन्। ताइवानले चीनको यस्तो व्यवहारले छिमेकी राष्ट्रहरूको सुरक्षामा समेत खतरा पैदा गरेको उल्लेख गर्दै उनले अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराइन्।
पछिल्लो समय अमेरिका र ताइवानबीच भएको ११.१ अर्ब डलर बराबरको विशाल हतियार सम्झौताले बेइजिङलाई थप क्रुद्ध बनाएको देखिन्छ। यस सम्झौतामा हाइमार्स रकेट प्रणाली, ट्याङ्क प्रतिरोधी मिसाइल र आधुनिक ड्रोनहरू समावेश छन्।
त्यसैगरी, जापानकी प्रधानमन्त्री सानाए ताकाइचीले चीनले सैन्य बल प्रयोग गरे जापानले पनि सैन्य जवाफ दिन सक्ने आशयको अभिव्यक्ति दिएपछि यस क्षेत्रमा कूटनीतिक र सैन्य तनाव झनै चुलिएको छ। चीनले सन् २०२२ मा अमेरिकी सभामुखको ताइवान भ्रमणपछि चीनले यस्ता अभ्यासहरूलाई तीव्र बनाउँदै लगेको छ।