मोरङ । कोशी प्रदेशमा रिक्त रहेका दुई राष्ट्रियसभा सदस्य पदका लागि निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ।
दलित र महिला सदस्य पदका लागि चार जना उम्मेदवारबीच प्रतिस्पर्धा हुँदैछ। प्रदेश निर्वाचन कार्यालय विराटनगरमा आइतबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने कार्यक्रम तय गरिएको छ।
यसअघि खुलातर्फको एक सदस्य पदमा नेपाली कांग्रेस–एमाले गठबन्धनका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भइसकेका छन्।
अब हुने मतदानमा महिलातर्फ गठबन्धनबाट रोशनी मेचे र नेकपाबाट नमिता न्यौपाने प्रतिस्पर्धी छन् भने दलिततर्फ गठबन्धनका सोम पोर्तेल र नेकपाका खेम सुन्दास चुनावी मैदानमा उत्रिएका छन्।
कोशी प्रदेशमा कुल मतभार १०,१३५ रहेको छ, जसमा प्रदेशसभा सदस्यको मतभार ५३ र स्थानीय तहका प्रमुख–उपप्रमुखको मतभार १९ कायम गरिएको छ।
निर्वाचन कार्यालयका अनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका कारण केही जनप्रतिनिधिहरूको नाम मतदाता नामावलीबाट हटाइएको छ।
प्रदेशमा कोशीका १३७ स्थानीय तह र प्रदेशसभाका सदस्यहरूले मतदानमा भाग लिनेछन्। दलगत रूपमा हेर्दा स्थानीय तह र प्रदेशसभा दुवैमा कांग्रेस र एमालेको बलियो उपस्थिति रहेको छ।