प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु संविधान विरोधी हुन् : प्रम

प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु संविधान विरोधी हुन् : प्रम

२०७७, माघ ११ आइतवार

  • 1.6K
    SHARES

  • प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरु संविधान विरोधी हुन् : प्रम

    माघ ११, काठमाडौँ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्नेहरू संविधान र लोकतन्त्र विरोधी भएको बताएका छन् ।  

    अपाङ्गतासँग सम्बन्धित विभिन्न संघसंस्थाले आज र आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा पुनःस्थापना गर्न चाहनेहरूले देशमा अस्तव्यस्तता ल्याई स्थायित्व हुन नदिने तथा बहुमतको सरकार तोडेर जोरजाममा सरकार बनाउन खोजेको आरोप   लगाए । 

    संसद् सांसदहरूको जागीर खाने मात्रै थलो नभएकाले सांसदको काम हेरेर पुरस्कृत र दण्ड गर्नका लागि ताजा जनादेशमा जानुपर्नेमा उनले जोड दिए ।  ‘‘स्थिरता हुन नदिने र बहुमतको सरकार तोडेर जोडजामको सरकार बनाउन खोजियो”, उनले भने, ‘‘संसद्मा पाँच वर्ष जागीर खान पाउनुपर्छ भन्ने ? सांसद भनेको जागीर हो ? पाँच वर्ष जागीर खान पाउनुपर्छ भन्ने उनीहरूको तर्क छ । मैले निर्णय गर्ने अधिकार आफ्नो हातमा लिएको छैन ।  जनताका बीचमा जाऔँ । मेरो र अरूले गरेका कामको   मूल्यांकन जनताले नै गर्छन् ।” 

    शारीरिक रूपले अशक्त, असक्षमहरूका लागि सरकार चाहिने जनाउँदै अशक्तको जीवनमा आइपर्ने समस्या समाधान गर्न सरकारले ध्यान दिने प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरे ।

    अहिले बालबालिका सडकमा आउनुपर्ने अवस्था नरहेको र सडकमा आउनेलाई अभिभावकको भूमिका निर्वाह गर्दै शिक्षा, स्वास्थ्य र सुनिश्चित भविष्यको प्रत्याभूति दिलाउने गरी सरकारले काम गरिरहेको उनले जानकारी दिए । 

    कार्यक्रममा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गणेशसिंह ठगुन्ना, महिला तथा बालबालिकामन्त्री जुलीकुमारी महतोलगायतले पनि आ-आफ्नो धारणा राखेका थिए ।

    २०७७, माघ ११ आइतवार०७:४९:४०
    प्रतिक्रिया
    सम्बन्धित समाचार