नयाँ दिल्ली । टी–२० विश्वकपको समूहचरणबाट सुपर-८ मा पुग्ने टिमको तय भएसँगै शीर्ष ८ मा एकअर्काविरुद्ध खेल्ने टिम तय भएको छ।
अन्तिम टोलीको टुंगो बुधबार भएको पाकिस्तान र नामीबियाबीचको खेलले तय गरेको हो। पाकिस्तानले फराकिलो जित सहित सुपर–८ मा स्थान बनाएकाले अमेरिकाको सम्भावना औपचारिक रुपमा सकियो।
योसँगै अब समूह १ मा आयोजक भारत सहित दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बाब्वेबिच प्रतिस्पर्धा हुँदा अर्को समूह अर्थात समूह ‘२’ मा इंग्ल्यान्ड, श्रीलंका, न्युजिल्यान्ड र पाकिस्तान बिच प्रतिस्पर्धा हुने छ।
सुपर-८ चरणमा कुल १२ खेल हुने छन्। यस चरणमा ४–४ टोलीका दुई समूह विभाजन गरेर प्रतिस्पर्धा हुने छ। प्रत्येक टोलीले आफ्नै समूहभित्र एक–अर्कासँग ३–३ खेल खेल्ने छन्। जहाँ एक समूहमा ६ खेल हुँदा दुवै समूह मिलाएर १२ खेल सम्पन्न हुने छन्। प्रत्येक समूहका शीर्ष दुई टोली सेमिफाइनल प्रवेश गर्ने छन्।
पहिलो सेमिफाइनल ४ मार्चमा हुनेछ भने दोस्रो सेमिफाइनल ५ मार्चमा वानखेड़े रंगशालामा खेलाइने छ। यी खेल जित्ने टोलीहरू ८ मार्चमा फाइनलमा प्रतिस्पर्धा गर्ने छन्। पाकिस्तानका सबै खेल कोलम्बोमा हुने छन्।
फेब्रुअरी ७ देखि सुरु भएको प्रतियोगिताको समूह चरणका खेलहरू फेब्रुअरी २० मा सकिंदै छन्। सुपर-८ चरणका खेलहरु फेब्रुअरी २१ बाट सुरु हुने छ। पहिलो दिन न्युजिल्याण्ड र पाकिस्तानबिच प्रतिस्पर्धा हुने छ। सुपर-८ चरणमा भारतको पहिलो खेल दक्षिण अफ्रिकासँग फेब्रुअरी २२ मा हुने छ।
फेब्रुअरी २२, २६ र मार्च १ मा दुई–दुई खेल हुँदा फेब्रुअरी २० देखि २८ सम्मका बाँकी दिनहरूमा एक–एक खेल मात्र हुने छन्। समूह चरणबाट कुल १० टोली बाहिरिएका छन्। प्रतियोगितामा २० टोलीलाई ५–५ टोलीका चार समूहमा विभाजन गरेर प्रतिस्पर्धा गराइएको थियो।