नयाँ दिल्ली । दक्षिण अफ्रिका जारी विश्वकपमा अपराजित रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ। अन्तिम खेल अघिनै सेमिफाइनल पुगेको दक्षिण अफ्रिकाले प्रतियोगिताको सुपर-८ अन्तर्गत आफ्नो तेस्रो खेलमा पनि जिम्बाब्वेलाई ५ विकेटले पराजित गर्यो। अब सेमिफाइनलमा दक्षिण अफ्रिकाले न्युजल्यान्डको सामना गर्ने छ।
दक्षिण अफ्रिकाले आफ्नो रवाफिलो प्रदर्शन कायम राख्ने क्रममा प्रतियोगितामा अपराजित यात्रालाइ कायम राख्यो। समूहचरणमा युएइ, न्युजिल्यान्ड र अफगानिस्तान तथा क्यानडालाइ हराउँदा सुपर-८ मा भारत, वेस्टइन्डिज र जिम्बाब्वेलाइ पराजित गर्यो ।
दिल्लीमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ५३ रन बनाउन सफल भएको थियो। उसका लागि कप्तान सिकन्दर रजाले ७३ रनको इनिङ खेल्दा सिमिल स्लाइभ मडान्डेले २६ रनको अविजित इनिङ खेले। यि दुइ बाहेक ब्रायन बेनेटले १५ रन बनाउँदा डियन मेयर्सले ११ रन बनाए। दक्षिण अफ्रिकाका लागि केवेना माफाका र कोर्विन बोस्चले २-२ विकेट लिंदा जर्ज लिन्दे, लुंगि एनगिडी र एनरित नोर्तेजले समान १-१ विकेट लिए।
१ सय ५४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले उक्त लक्ष्य १७.५ ओभरमै ५ विकेट गुमाएर पुरा गर्यो। दक्षिण अफ्रिकाका लागि डेवाल्ड ब्रेभिसले ४२ रन बनाउँदा रियान रिकेल्टनले ३१ तथा डेभिड मिलरले २२ रन बनाए। त्यस्तै ट्रिस्टन स्टब्सले २१ रन बनाउँदा जर्ज लिन्डेले ३० रन बनाएका थिए।