दमक । भट्टराई कुलवंश प्रतिष्ठान केन्द्रीय समितिको आगामी पूर्ण बैठक सिन्धुपाल्चोकमा हुने भएको छ ।
बैठक जेठ ०९ गते शनिवारका दिन सिन्धुपाल्चोक जिल्ला मेलम्चीनगरपालिका वडा नं ११ स्थित धुसेनीचौरमा हुने प्रतिष्ठानका प्रवक्ता एवं सचिव मनोज कुमार भट्टराईले जनाए । यो बैठकको व्यवस्थापन वागमती प्रदेश र सिन्धुपाल्चोक जिल्लाले संयुक्तरुपमा गर्नेछन् ।
यसअघि गण्डकी प्रदेशको पर्वत जिल्लामा भव्यरुपमा सम्पन्न वार्षिक साधारण सभाले राष्ट्रिय - अन्तरराष्ट्रिय रुपमै छरिएर रहेका भट्टराई बन्धुहरुको ध्यान खिच्न सफल भएको प्रा डा ध्रुव भट्टराईले जनाए ।
सातै प्रदेश तथा ७६ जिल्लामा समिति विस्तार गरिसकेको प्रतिष्ठानले देशैभर पुग्ने लक्ष्यका साथ कम्तिमा पूर्ण बैठकको माध्यमबाट भए पनि सबै प्रदेश प्रदेशमै पुगेर बैठक आयोजना गर्दै आएको छ ।
केन्द्रीय कार्यालय झापाको दमकमा रहेको यस प्रतिष्ठानका हालका अध्यक्ष दुर्गा प्रसाद भट्टराई रहेका छन् ।
यस अघि चितवन देवघाटमा सम्पन्न केन्द्रीय महाधिवेशन व्यवस्थापनमा प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेको वागमतीले आसन्न बैठक कुशलता र भव्यतापूर्वक सम्पन्न गर्ने अनुमान गरिएको छ ।
बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरु, प्रदेश अध्यक्षहरु एवं संस्थापक सदस्यहरु सहभागी हुनेछन् ।
