काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।
विभागले देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार शुक्रबार जारी बुलेटिनमा आगामी ३ दिन पनि लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियस वा सो भन्दा बढी रहने तथा थोरै स्थानहरूमा ४० डिग्री सेल्सियस वा सो भन्दा बढी भई अत्याधिक गर्मीको सम्भावना देखिएकाले आवश्यक तयारी गर्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको हो ।
“विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ ।सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ, ” बुलेटिनमा भनिएको छ ।
सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भाग तथा लुम्बिनी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा मिति यही ६ गतेदेखि नै अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ । साथै सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा अधिकतम तापक्रम ३८ डिग्री सेल्सियसभन्दा माथि मापन गरिएको छ ।
विभागका अनुसार सतर्कता अपनाउनुपर्ने जिल्लाहरूमा कञ्चनपुर, कैलाली, डोटी, बर्दिया, बाँके र दाङ रहेका छन् भने अद्यावधिक गर्नुपर्ने जिल्लाहरूमा बैतडी, डडेलधुरा, अछाम, सुर्खेत, सल्यान, रोल्पा, प्युठान, पाल्पा, अर्घाखाँची, रुपन्देही र कपिलवस्तु रहेका छन् ।
विभागले तातो हावा तथा तातो लहरबाट हुने सम्भावित असरहरू जस्तैस् थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने देखिएकोले सो बाट बच्न पनि अनुरोध गरेको छ ।
विभागले तातो हावा तथा तातो लहरबाट बच्न बढी गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, चर्को घाममा बाहिर ननिस्किने, हल्का लुगा ९सुतीको कपडा० लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउन भनेको छ ।
यस्तै नियमित (पटक-पटक) पानी तथा झोल पदार्थ (जुस, सर्वत) प्रशस्त मात्रामा पिउने र स्वास्थ्यमा समस्या भएमा स्वास्थ्यकर्मी सँग नियमित सम्पर्कमा रही थप सल्लाह सुझाव लिनसमेत अनुरोध गरिएको छ ।
विभागले मौसम पूर्वानुमान महाशाखाबाट दैनिक जारी हुने मौसम पूर्वानुमान बुलेटिन नियमित रूपमा अद्यावधिक मौसमी सूचनाको जानकारी लिन पनि अनुरोध गरेको छ ।