हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, मध्यपूर्वमा तनाव थप चुलियो

हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, मध्यपूर्वमा तनाव थप चुलियो

२०८३, आषाढ २३ मंगलवार

  • 485
    SHARES

  • हर्मुज जलघाँटीमा एलएनजी ट्याङ्करमाथि प्रहार, मध्यपूर्वमा तनाव थप चुलियो

    दुबई (यूएई)। विश्व ऊर्जा आपूर्तिको प्रमुख समुद्री मार्ग हर्मुज जलघाँटीमा फेरि एकपटक तरलीकृत प्राकृतिक ग्यास (एलएनजी) बोकेको ट्याङ्करमाथि प्रहार भएको छ। ओमानको तट नजिक मंगलबार बिहान भएको आक्रमणपछि ट्याङ्करमा आगलागी भएको बेलायती सेनाले जनाएको छ।

    बेलायतको युनाइटेड किङ्गडम मेरिटाइम ट्रेड अपरेसन्स (यूकेएमटीओ) का अनुसार ओमानको लिमाह क्षेत्रनजिक दक्षिणतर्फ गइरहेको ट्याङ्करको बायाँ भागमा प्रक्षेप्य प्रहार भएको थियो। आगलागी भए पनि वातावरणीय क्षति नभएको र घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।

    पर्सियन खाडी र ओमानको खाडी जोड्ने हर्मुज जलघाँटी विश्वकै सबैभन्दा व्यस्त ऊर्जा व्यापारिक मार्गमध्ये एक हो। विश्वको करिब पाँचौं भाग तेल तथा प्राकृतिक ग्यास यही मार्ग हुँदै ओसारपसार हुने भएकाले त्यहाँ हुने सुरक्षा घटनाले अन्तर्राष्ट्रिय ऊर्जा बजारमा प्रत्यक्ष प्रभाव पार्ने गरेको छ।

    इरानी सरकारी टेलिभिजनले कतारबाट एलएनजी बोकेको ट्याङ्कर आक्रमणमा परेको जनाएको भए पनि घटनाको जिम्मेवारी तेहरानले औपचारिक रूपमा स्वीकार गरेको छैन। यसअघि इरानले आफ्नो स्वीकृत समुद्री मार्गबाहेक अन्य मार्ग प्रयोग गर्ने जहाजलाई चेतावनी दिँदै आएको थियो।

    गत बिहीबार इरानको संयुक्त सैन्य कमान्डले हर्मुज जलघाँटीबाट आवतजावत गर्ने सबै तेल ट्याङ्करले स्वीकृत मार्ग प्रयोग गर्नुपर्ने र अमेरिकी सैन्य हस्तक्षेप भए ‘द्रुत र निर्णायक’ जवाफ दिइने चेतावनी दिएको थियो।

    यसैबीच, हर्मुज जलघाँटी पूर्ण रूपमा खुला राख्ने, इरानको विवादास्पद आणविक कार्यक्रम सीमित गर्ने तथा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले अमेरिका र इरानबीच कूटनीतिक पहल जारी रहेको जनाइएको छ। यद्यपि, इरानमा जारी राष्ट्रिय शोकका कारण वार्ता केही समयका लागि स्थगित भएको बताइएको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबार ह्वाइट हाउसमा इरानलाई सम्झौता गर्न आग्रह गर्दै त्यसो नभए थप कडा कदम चाल्ने चेतावनी दिएका थिए। उनले आवश्यक परे इरानको पूर्वाधार र ऊर्जा प्रणालीलाई लक्षित कारबाही गर्न सकिने धारणा पनि व्यक्त गरेका थिए।

    यता, दुवै पक्षबीच ६० दिनसम्म जहाजलाई शुल्कबिनै आवतजावत गर्न दिने अस्थायी सहमति भए पनि समुद्री मार्गमाथिको नियन्त्रण र शुल्क असुलीको अधिकारबारे मतभेद कायम रहेको छ। अमेरिका र खाडी क्षेत्रका अधिकांश मुलुकले इरानको उक्त अडान अस्वीकार गरेका छन्।

    डाटा विश्लेषण संस्था केप्लरका अनुसार गत सप्ताहन्तमा मात्र कम्तीमा १०८ वटा जहाजले विभिन्न मार्ग प्रयोग गर्दै हर्मुज जलघाँटी पार गरेका थिए।

    यसैबीच, इरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको अन्त्येष्टिमा लाखौँ मानिस सहभागी भएको जनाइएको छ। राष्ट्रिय शोकका कारण देशका विभिन्न क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ भने सडक, हवाई सेवा र दैनिक गतिविधिमा समेत व्यापक प्रतिबन्ध लगाइएको छ । एजेन्सी।

     

    २०८३, आषाढ २३ मंगलवार१२:३२:५९
    प्रतिक्रिया
    सम्बन्धित समाचार