काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिष्टार विमल पौडेलले विधिको शासन कायम गर्ने महत्वपूर्ण औजार फैसला कार्यान्वयन भएकाले त्यसलाई प्रभावकारी बनाउनुपर्ने बताएका छन्।
सर्वोच्च अदालत फैसला कार्यान्वयन निर्देशनालयले प्रकाशन गरेको ‘फैसला कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण कानुनहरूको संगालो’ को विमोचन कार्यक्रममा बोल्दै उनले फैसला कार्यान्वयन प्रभावकारी बनाइए अदालतप्रतिको जनआस्था अझ बलियो हुने धारणा व्यक्त गरे।
मुख्य रजिष्टार पौडेलले हाल १ लाख २१ हजार कैद असुल गर्न बाँकी रहेको जानकारी दिदै फैसला कार्यान्वयन न्यायपालिका एक्लैले गर्न नसक्ने स्पष्ट पारे। उनले यस कार्यमा प्रहरी तथा अन्य सम्बन्धित निकायको सक्रिय सहयोग आवश्यक रहने बताए।
उनले फैसला कार्यान्वयनसँग सम्बन्धित महत्वपूर्ण कानुनहरूको संगालोले फैसला कार्यान्वयन प्रक्रियालाई गति दिनुका साथै महत्वपूर्ण विषयमा एकरूपता कायम गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा फैसला कार्यान्वयन निर्देशनालयका महानिर्देशक गजेन्द्र बहादुर सिंहले फैसला निर्देशनालय अदालतभित्रकै अदालतजस्तै महत्वपूर्ण संरचना भएको उल्लेख गर्दै यसलाई थप प्रभावकारी बनाउन उक्त पुस्तक उपयोगी हुने बताए।
उनले अदालतप्रतिको जनआस्था फैसला कार्यान्वयनसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै पुस्तक तहसिलदार, कर्मचारी तथा फैसला कार्यान्वयनमा संलग्न सबै सरोकारवालाका लागि उपयोगी सन्दर्भ सामग्री बन्ने विश्वास व्यक्त गरे।