काठमाडौँ। काठमाडौँको त्रिपुरेश्वरमा बिहीबार आफैँले शरीरमा आगो लगाएर गम्भीर घाइते भएका मुगुका युवा गणेश नेपालीको उपचारका क्रममा निधन भएको छ।
वीर अस्पतालका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार शरीरको करिब ६० प्रतिशत भाग जलेका नेपालीको ‘आइसियु’मा उपचार भइरहेका बेला केही बेरअघि मृत्यु भएको हो।
यसअघि अस्पतालले पत्रकार सम्मेलनमार्फत उनको स्वास्थ्य अवस्था अत्यन्त गम्भीर रहेको जानकारी दिएको थियो। नेपाल सरकारले थप उपचारका लागि भारत लैजाने तयारी पूरा गरेको भए पनि चिकित्सकहरूले अवस्था निकै जटिल भएकाले तत्काल आइसियुबाट बाहिर निकाल्न नमिल्ने सुझाव दिएका थिए।
घटनापछि नेपालीलाई तत्काल उद्धार गरी वीर अस्पतालमा भर्ना गरिएको थियो। उपचारका क्रममा चिकित्सकहरूको निरन्तर प्रयास भए पनि उनको ज्यान जोगाउन नसकिएको अस्पतालले जनाएको छ।