राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी

राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी

२०८३, श्रावण १७ आइतवार

  • 293
    SHARES

  • राजविराज र बोदेबरसाइनमा कर्फ्यु हटाइयो, निषेधाज्ञा जारी

    राजविराज । सप्तरी जिल्ला प्रशासन कार्यालयले राजविराज नगरपालिका र बोदेबरसाइन नगरपालिकामा लागू गरिएको कर्फ्यु आदेश हटाउँदै अर्को सूचना जारी नभएसम्मका लागि निषेधाज्ञा लागू गरेको छ।

    प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जारी गरेको सूचनाअनुसार जिल्ला सुरक्षा समितिको आइतबार बसेको बैठकले सुरक्षा अवस्था तथा शान्ति–सुव्यवस्था मूल्याङ्कन गर्दै कर्फ्यु हटाएर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो।

    जारी निषेधाज्ञाअनुसार दुवै नगरपालिकाभित्र पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन, सभा, जुलुस, धर्ना, प्रदर्शन तथा अन्य सार्वजनिक गतिविधि सञ्चालन गर्न रोक लगाइएको छ।

    स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम जारी गरिएको निषेधाज्ञाको पूर्ण पालना गर्न जिल्ला प्रशासन कार्यालयले सर्वसाधारणसँग आग्रह गरेको छ।

    प्रशासनका अनुसार राजविराज नगरपालिकामा पूर्वतर्फ खाँडो खोला, पश्चिमतर्फ हुलाकी राजमार्गस्थित जमुनी-थलही, उत्तरतर्फ रुपनी रोडको बसबिट्टी चोक तथा दक्षिणतर्फ कोशी पश्चिम मूल नहरसम्मको क्षेत्रलाई निषेधाज्ञा क्षेत्र घोषणा गरिएको छ।

    त्यसैगरी बोदेबरसाइन नगरपालिकामा पूर्वतर्फ हुलाकी राजमार्गको खडक पुल, पश्चिमतर्फ प्रितमपुर चोक, उत्तरतर्फ नेगडा चोक र दक्षिणतर्फ मानराजा चोकसम्मको क्षेत्र निषेधाज्ञाको दायराभित्र पर्ने जनाइएको छ।

    जिल्ला प्रशासन कार्यालयले जिल्लामा शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव कायम राख्न सबै नागरिकलाई संयमित रहन, अफवाहमा विश्वास नगर्न र प्रशासनसँग आवश्यक सहयोग गर्न आग्रह गरेको छ।

    प्रशासनले अर्को आदेश जारी नभएसम्म निषेधाज्ञा यथावत् रहने पनि जनाएको छ।

    २०८३, श्रावण १७ आइतवार०२:३६:३९
    प्रतिक्रिया
    सम्बन्धित समाचार