देवानगञ्ज घटनापछि उत्पन्न विवाद समाधानतर्फ सरकारको पहल,आन्दोलनका सबै कार्यक्रम फिर्ता

देवानगञ्ज घटनापछि उत्पन्न विवाद समाधानतर्फ सरकारको पहल,आन्दोलनका सबै कार्यक्रम फिर्ता

२०८३, श्रावण १७ आइतवार

  • 445
    SHARES

  • देवानगञ्ज घटनापछि उत्पन्न विवाद समाधानतर्फ सरकारको पहल,आन्दोलनका सबै कार्यक्रम फिर्ता

    जनकपुरधाम । सरकार र हिन्दू सम्राट सेना नेपालबीच आइतबार जनकपुरधाममा भएको वार्तापछि १९ बुँदे समझदारी भएको छ। सहमतिसँगै हिन्दू सम्राट सेना नेपालले जारी आन्दोलन तथा विरोधका सम्पूर्ण कार्यक्रम फिर्ता लिएको घोषणा गरेको छ।

    गृहमन्त्री सुदन गुरुङको नेतृत्वमा रहेको सरकारी टोली र हिन्दू सम्राट सेना नेपालका प्रतिनिधिबीच जनकपुरधामस्थित एक होटलमा करिब डेढ घण्टा वार्ता भएको थियो। संयुक्त हिन्दू मोर्चाले यसअघि सरकारलाई बुझाएको १३ बुँदे मागपत्रमा थप छ बुँदा समावेश गर्दै दुवै पक्ष १९ बुँदे सहमतिमा पुगेका हुन्।

    वार्तापछि हिन्दू सम्राट सेना नेपालका उपाध्यक्ष कृष्ण सनातनीले सरकारले आफ्ना मागप्रति सकारात्मक धारणा व्यक्त गरेको र सहमतिका विषय कार्यान्वयनका लागि आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता जनाएको बताए।

    समझदारीअनुसार आन्दोलनका क्रममा पक्राउ परेका व्यक्तिहरूलाई रिहा गर्ने, उनीहरूमाथि मुद्दा नचलाउने तथा आन्दोलनका क्रममा गोली चलाएको विषयमा निष्पक्ष छानबिन गरी दोषी ठहरिएका सुरक्षाकर्मीमाथि कानुनबमोजिम कारबाही गर्ने सहमति भएको छ।

    त्यसैगरी, सरकारले हिन्दू पक्षले उठाएका १३ बुँदे मागसँगै थप गरिएका छ बुँदे प्रस्तावसमेत औपचारिक रूपमा ग्रहण गरी कार्यान्वयन प्रक्रिया अघि बढाउने जनाएको छ।

    सहमतिमा नेपाललाई हिन्दू राष्ट्रका रूपमा पुनःस्थापनासम्बन्धी विषय संसद्मा छलफल गराउने, धार्मिक स्थलको संरक्षण तथा व्यवस्थापन, सामाजिक सञ्जालमार्फत धार्मिक तथा जातीय द्वेष फैलाउने गतिविधिमाथि कानुनी कारबाही, सुनसरीको देवानगञ्ज घटनापछि पक्राउ परेकाहरूको मुद्दा पुनरावलोकन, घाइतेहरूको उपचार, धार्मिक आयोगको पुनरावलोकन तथा नागरिकता छानबिनलगायतका विषय समावेश छन्।

    यसका साथै सीमा सुरक्षा सुदृढीकरण, घुसपैठ नियन्त्रणका लागि उच्चस्तरीय छानबिन, धार्मिक संस्थाहरूको आर्थिक स्रोतको अनुसन्धान तथा सर्वोच्च अदालतको निर्णयअनुसार लाउडस्पिकरसम्बन्धी व्यवस्था कार्यान्वयन गर्ने विषय पनि सहमतिमा उल्लेख गरिएको छ।

    गृहमन्त्री सुदन गुरुङले सरकारले प्रस्तुत सबै माग औपचारिक रूपमा ग्रहण गरेको जानकारी दिँदै सहमतिका विषयहरू कानुनी प्रक्रिया र आवश्यक संयन्त्रमार्फत कार्यान्वयन गरिने बताए।

    सुनसरीको देवानगञ्ज घटनापछि मधेश प्रदेशमा उत्पन्न तनाव र विवाद समाधान गर्ने उद्देश्यले गृहमन्त्री गुरुङ नेतृत्वको सरकारी टोली जनकपुरधाम पुगेको थियो। वार्तामा मधेश प्रदेश सरकारका प्रतिनिधि, धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद लुइँटेल, सुरक्षा निकायका प्रमुखहरू तथा विभिन्न हिन्दू सङ्घसंस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    सहमतिसँगै केही दिनदेखि जारी आन्दोलनका कार्यक्रम स्थगित भएका छन् भने मधेश प्रदेशमा शान्ति, सुरक्षा र सामाजिक सद्भाव कायम गर्ने दिशामा यो समझदारीलाई महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ।

    २०८३, श्रावण १७ आइतवार०३:५०:३७
    प्रतिक्रिया
    सम्बन्धित समाचार