स्पेसएक्सको रकेटको एक भाग आज चन्द्रमामा ठोक्किने

स्पेसएक्सको रकेटको एक भाग आज चन्द्रमामा ठोक्किने

२०८३, श्रावण २० बुधवार

  • 32.5K
    SHARES

  • स्पेसएक्सको रकेटको एक भाग आज चन्द्रमामा ठोक्किने

    एजेन्सी । स्पेसएक्सको फाल्कन-९ रकेटको एक भाग बुधबार चन्द्रमामा ठोक्किने अपेक्षा गरिएको छ। यो रकेटले सन् २०२५ जनवरी १५ मा दुईवटा व्यावसायिक चन्द्र अवतरण यान (लुनार ल्याण्डर) अन्तरिक्षतर्फ प्रक्षेपण गरेको थियो।

    रकेटमार्फत टेक्सासस्थित फायरफ्लाइ एरोस्पेसले विकास गरेको ब्लु घोस्ट र जापानको आइस्पेस कम्पनीको रेजिलिएन्स नामक चन्द्र अवतरण यान पठाइएको थियो। ब्लु घोस्टले सन् २०२५ मार्चमा सफलतापूर्वक चन्द्रमामा अवतरण गरेको थियो भने रेजिलिएन्स केही महिनापछि सुरक्षित अवतरण गर्न असफल भएको थियो।

    रकेटको पहिलो चरण (बुस्टर) प्रक्षेपणपछि पृथ्वीमा फर्किएको थियो। तर दोस्रो चरण (अप्पर स्टेज) ले ती दुवै यानलाई चन्द्रमातर्फको यात्रामा अघि बढाउने काम गरेको थियो।

    स्पेसएक्स अन्तर्गत नासा विज्ञान तथा ड्रागन कार्यक्रमकी निर्देशक जुलियाना स्काइमनका अनुसार पृथ्वीको नजिकको कक्ष (लो-अर्थ अर्बिट) मा जाने अधिकांश मिसनमा दोस्रो चरणलाई पृथ्वीको वायुमण्डलमा प्रवेश गराएर जलाइन्छ। तर चन्द्रमा वा अन्य टाढाका गन्तव्यमा जाने उच्च ऊर्जा मिसनका लागि फरक व्यवस्थापन गर्नुपर्ने हुन्छ।

    उनका अनुसार यस मिसनमा पनि सबै सुरक्षा मापदण्ड पूरा गरेर दोस्रो चरणलाई छुट्याइएको थियो। तर त्यसपछि सौर्य गतिविधि र गुरुत्वाकर्षणको संयुक्त प्रभावका कारण यो चन्द्रमातर्फको मार्गमा पुगेको हो।

    सार्वजनिक रूपमा उपलब्ध तथ्यांकको आधारमा स्वतन्त्र खगोलविद्हरूले फाल्कन-९ को दोस्रो चरणलाई पछ्याउँदै यो चन्द्रमासँग ठोक्किने निष्कर्ष निकालेका थिए। नासाको सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडिज (सीएनइओएस) ले पनि यसको पुष्टि गरेको छ।

    नासाले यसबाट पृथ्वीलाई कुनै खतरा नहुने जनाएको छ। साथै, वैज्ञानिक अध्ययनका लागि रकेटको अवस्थालाई निगरानी गरिने र ठोक्किएको स्थानको पनि अध्ययन गरिने जनाएको छ।

    प्रत्यक्ष हेर्न कठिन
    यो ठक्कर अमेरिकी पूर्वी समयअनुसार बुधबार बिहान २:३५ बजे (नेपाली समय अनुसार राती १२:४५) बजे हुने अनुमान गरिएको छ। अमेरिकाका विभिन्न भागका खगोलविद्हरूले जमिन र अन्तरिक्षमा रहेका दूरबिनमार्फत यो दृश्य कैद गर्ने प्रयास गरिरहेका छन्। सर्वसाधारणले भने यसलाई प्रत्यक्ष हेर्न सक्ने व्यवस्था छैन, तर घटना पछि तस्वीरहरू सार्वजनिक हुने सम्भावना छ।

    वैज्ञानिकहरूका अनुसार यस्तो दुर्लभ घटनाले चन्द्रमाको सतहबारे थप जानकारी दिनुका साथै भविष्यमा चन्द्रमामा पठाइने अन्तरिक्षयात्री र पूर्वाधारलाई कसरी सुरक्षित राख्ने भन्ने विषयमा पनि उपयोगी जानकारी उपलब्ध गराउने छ।

    करिब चार टन तौलको भाग आइन्स्टाइन क्रेटर नजिक खस्ने अनुमान
    वैज्ञानिकहरूको अध्ययनअनुसार करिब ४ हजार किलोग्राम (झण्डै चार टन) तौल भएको रकेटको दोस्रो चरण आइन्स्टाइन क्रेटर नजिक चन्द्रमामा ठोक्किने सम्भावना छ। यसले चन्द्रमामा २० देखि ३० मिटर व्यासको नयाँ खाल्डो बनाउन सक्ने अनुमान गरिएको छ।

    रकेट करिब २.४३ किलोमिटर प्रति सेकेन्ड (५,४३६ माइल प्रतिघण्टा) को गतिमा चन्द्रमामा ठोक्किने छ। ठोक्किने क्षणमा देखिने उज्यालो (इम्प्याक्ट फ्ल्यास) करिब एक सेकेन्डभन्दा पनि कम समय मात्र रहने भएकाले यसलाई देख्न निकै कठिन हुने वैज्ञानिकहरूको भनाइ छ।

    यद्यपि, ठोक्किँदा उड्ने धुलो र चट्टानको मुस्लो सूर्यको प्रकाशले उज्यालो बनाउन सक्ने भएकाले शक्तिशाली दूरबिनबाट त्यसलाई देख्न सकिने अपेक्षा गरिएको छ।

    कक्षबाट पनि गरिँदै छ अवलोकन
    दक्षिण कोरियाको कोरियन पाथफाइन्डर लुनार अर्बिटरले ठोक्किनुअघि रकेटको तस्विर खिच्ने प्रयास गर्नेछ भने नासाको लुनार रिकनाइसन्स अर्बिटरले ठोक्किएपछि बनेको स्थानको अध्ययन गर्ने छ। चन्द्रमामा प्राकृतिक रूपमा उल्कापिण्डहरू बारम्बार ठोक्किने गर्छन्। तर मानव निर्मित वस्तु यसरी चन्द्रमामा ठोक्किने घटना भने अहिलेसम्म निकै थोरै मात्र भएका छन्।

    भविष्यका चन्द्र अभियानका लागि महत्त्वपूर्ण अध्ययन
    नासाले आर्टेमिस कार्यक्रममार्फत चन्द्रमामा दीर्घकालीन मानव उपस्थिति स्थापना गर्ने तयारी गरिरहेको छ। आगामी वर्षहरूमा चन्द्र अभियान बढ्दै जाँदा त्यहाँ अन्तरिक्ष फोहोर (स्पेस डेब्रिस) को व्यवस्थापन पनि चुनौती बन्दै जाने वैज्ञानिकहरूको भनाइ छ।

    चन्द्रमामा पृथ्वीजस्तो वायुमण्डल नभएकाले अन्तरिक्षबाट आउने वस्तुहरू सिधै सतहमा ठोक्किन्छन्। यस्तो ठक्करले उडाएका साना चट्टानका टुक्रा ८०५ किलोमिटरसम्म टाढा पुग्न सक्ने अनुमान गरिएको छ।

    यदि भविष्यमा चन्द्रमामा अन्तरिक्षयात्री, बासस्थान वा उपकरणहरू रहेको बेला यस्तै घटना भयो भने ती उच्च गतिमा उड्ने चट्टानका टुक्राले ठूलो जोखिम निम्त्याउन सक्छन्।

    खगोलविद् पल विगर्टका अनुसार ती साना ढुंगाका टुक्रा गोलीसरह तीव्र गतिमा उड्ने भएकाले यस्ता जोखिमलाई राम्रोसँग बुझेर भविष्यमा सुरक्षित उपाय अपनाउनु आवश्यक छ।

    स्पेसएक्सकी जुलियाना स्काइमनले पनि वैज्ञानिक दृष्टिले यो घटना अत्यन्त महत्त्वपूर्ण भए पनि भविष्यमा सूर्य–पृथ्वी–चन्द्रमा प्रणालीमा सञ्चालन हुने उच्च ऊर्जा मिसनहरूको रकेटलाई सुरक्षित रूपमा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा नासा र अन्य सम्बन्धित निकायसँग मिलेर काम भइरहेको बताएकी छन्।

    २०८३, श्रावण २० बुधवार०८:४०:४६

    स्याटलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार