बुटवल धागो कारखाना पुनः सञ्चालनको सरकारी तयारी, उद्योगी–व्यवसायी उत्साहित

बुटवल धागो कारखाना पुनः सञ्चालनको सरकारी तयारी, उद्योगी–व्यवसायी उत्साहित

२०८३, श्रावण २६ मंगलवार

  • 385
    SHARES

  • बुटवल धागो कारखाना पुनः सञ्चालनको सरकारी तयारी, उद्योगी–व्यवसायी उत्साहित

    रुपन्देही । दुई दशकदेखि बन्द रहेको बुटवल धागो कारखाना पुनः सञ्चालन गर्ने सरकारले आन्तरिक तयारी थालेपछि रुपन्देहीका उद्योगी-व्यवसायी उत्साहित भएका छन्। हेटौँडा कपडा उद्योग सञ्चालनको प्रयाससँगै बुटवल धागो कारखानालाई समेत पुनर्जीवन दिने सरकारी तयारीले नेपालको कपडा उद्योगलाई पुनः चलायमान बनाउने आशा बढाएको छ।

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले कारखानाको सम्पत्ति तथा दायित्व मूल्याङ्कन (DDA) प्रक्रिया अघि बढाएपछि बन्द अवस्थामा रहेको उद्योग सञ्चालन हुने सम्भावना बलियो बनेको हो।

    अर्थ मन्त्रालयका प्रतिनिधि कृष्णकुमार भट्टराईको नेतृत्वमा दुई इन्जिनियर, दुई चार्टर्ड एकाउन्टेन्ट र एक कानुनविज्ञसहितको पाँच सदस्यीय प्राविधिक टोलीले गत असार ५ गतेदेखि कारखानाको स्थलगत अध्ययन गरिरहेको छ। टोलीले कारखानाको भवन, मेसिनरी, उत्पादन पूर्वाधार, विद्यमान अवस्था, बजार सम्भावना तथा पुनः सञ्चालनका लागि आवश्यक लगानीलगायत विषयमा अध्ययन गरिरहेको जनाइएको छ।

    टोलीले तयार गर्ने प्रतिवेदनका आधारमा कारखाना सञ्चालनको मोडालिटी तय गरिनेछ। कारखानाका निमित्त प्रमुख तथा प्राविधिक अधिकृत डोलराज शर्माका अनुसार अध्ययन प्रतिवेदन प्राप्त भएपछि सरकारलाई उद्योग सञ्चालनको उपयुक्त विकल्प छनोट गर्न सहज हुनेछ।

    सरकारले आर्थिक वर्ष २०८३/८४ को बजेटमा समेत बुटवल धागो कारखानालाई पुनः सञ्चालन गर्ने विषय समेटिसकेको छ।

    करोडौँका मेसिन, तर संरक्षणको अभाव

    बुटवल धागो कारखानाको भौतिक संरचना तथा करोडौँ रुपैयाँ मूल्यका मेसिनहरू अझै कारखाना परिसरमा रहेका छन्। यद्यपि लामो समयदेखि सञ्चालनमा नआउँदा ती मेसिन तथा पूर्वाधारको नियमित मर्मतसम्भार हुन सकेको छैन।

    विद्युत् आपूर्तिको अभाव र संरक्षणको कमीका कारण कतिपय उपकरण जीर्ण बन्दै गएका छन्। भूमिगत विद्युत् संरचनालगायत केही महत्वपूर्ण सामग्री चोरीसमेत भएको बताइएको छ।

    उद्योगी तथा पूर्व सञ्चालक समिति सदस्यहरूले भने कारखानामा रहेका अधिकांश मेसिन पूर्ण रूपमा नष्ट नभइसकेको दाबी गरेका छन्। उनीहरूका अनुसार आवश्यक मर्मत, पुनःस्थापना तथा आधुनिक प्रविधिका केही नयाँ मेसिन थप गर्न सके कारखाना पुनः सञ्चालन गर्न सकिन्छ।

    व्यवस्थापन र राजनीतिक हस्तक्षेपले बन्द भयो उद्योग

    बुटवल धागो कारखानाको निर्माण २०३९ चैत ३ गते सुरु भएको थियो। २०४८ वैशाखदेखि उद्योगले औपचारिक रूपमा उत्पादन सुरु गरेको थियो।

    देशलाई कपडा उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना गरिएको उद्योग केही समय सञ्चालनमा रहे पनि व्यवस्थापनको कमजोरी, राजनीतिक हस्तक्षेप तथा कर्मचारी विवादलगायत समस्याका कारण २०६४ फागुनदेखि पूर्ण रूपमा बन्द भयो।

    २०६६ सालमा उद्योगमा कार्यरत ४०२ जना कर्मचारीलाई सेवा–सुविधासहित बिदाइ गरिएपछि कारखाना पूर्ण रूपमा निष्क्रिय अवस्थामा पुगेको हो। अहिले कारखानामा तीन जना कर्मचारी मात्र कार्यरत रहेको जनाइएको छ।

    करिब एक अर्ब लगानी आवश्यक

    सरकारी बहुमत स्वामित्व रहेको बुटवल धागो कारखानामा चार हजार ६३० जना सेयरधनी छन्। प्रारम्भिक अनुमानअनुसार कारखाना पुनः सञ्चालनका लागि करिब एक अर्ब रुपैयाँ लगानी आवश्यक पर्ने देखिएको छ।

    बुटवल उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरिप्रसाद अर्यालले उद्योग पुनः सञ्चालन भए यसले रोजगारी सिर्जनाका साथै कपास खेती, धागो तथा कपडा उद्योगको विस्तार र पश्चिम नेपालको समग्र अर्थतन्त्रलाई गतिशील बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने बताए।

    उनका अनुसार उद्योग सञ्चालनले एउटा कारखाना मात्र पुनर्जीवित गर्ने नभई त्यससँग जोडिएका कृषि, उद्योग, व्यापार र रोजगारीका क्षेत्रमा समेत सकारात्मक प्रभाव पार्न सक्छ।

    नेपालगन्ज–बुटवल–हेटौँडा औद्योगिक ‘चेन’ बनाउन सकिने

    युवा व्यवसायी तथा उद्योग सञ्चालनका लागि निरन्तर दबाब दिँदै आएका प्रकाश भुसाल र पूर्व सञ्चालक समिति सदस्य जीवन वझाले कारखानाका मेसिन पूर्ण रूपमा बिग्रिनसकेको बताएका छन्।

    उनीहरूका अनुसार आवश्यक मर्मत तथा आधुनिक मेसिन थपेर उत्पादन पुनः सुरु गर्न सकिन्छ।

    उद्योगी नवराज श्रेष्ठले भने नेपालगन्जको कपास उद्योग, बुटवल धागो कारखाना र हेटौँडा कपडा उद्योगलाई एकीकृत उत्पादन शृङ्खलामा जोड्न सके नेपालले कपडा उत्पादनमा महत्वपूर्ण उपलब्धि हासिल गर्न सक्ने बताएका छन्।

    उनका अनुसार यस्तो संरचना निर्माण गर्न सके नेपाली सेना, नेपाल प्रहरीलगायत सरकारी निकायका पोसाक स्वदेशमै उत्पादन गर्न सकिनेछ भने उत्पादित धागो तथा कपडा भारतीय बजारमा समेत निर्यात गर्ने सम्भावना रहन्छ।

    रोजगारीदेखि स्वदेशी उत्पादनसम्मको अवसर

    बुटवल धागो कारखाना पुनः सञ्चालन हुँदा प्रत्यक्ष रोजगारीका साथै अप्रत्यक्ष रोजगारीका अवसरसमेत सिर्जना हुने अपेक्षा गरिएको छ। उद्योग सञ्चालनसँगै कपास उत्पादन, ढुवानी, प्याकेजिङ, व्यापार तथा कपडा उद्योगमा समेत नयाँ गतिविधि बढ्न सक्ने उद्योगी–व्यवसायीको विश्वास छ।

    नेपालमा वर्षौँदेखि बन्द रहेका सार्वजनिक उद्योग पुनः सञ्चालन गर्ने बहस चलिरहेका बेला बुटवल धागो कारखानाको पुनर्जीवनलाई उद्योगी–व्यवसायीले सकारात्मक कदमका रूपमा लिएका छन्।

    १४४ रोपनीमा फैलिएको ऐतिहासिक उद्योग

    १४४ रोपनी क्षेत्रफलमा फैलिएको बुटवल धागो कारखाना तत्कालीन राजा वीरेन्द्र शाहको अवधारणाअनुसार मुलुकलाई कपडा उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले स्थापना गरिएको थियो।

    लामो समयदेखि बन्द रहेको यो उद्योगलाई सरकारले कुन मोडालिटीमा र कसरी सञ्चालनमा ल्याउँछ भन्ने विषय भने प्राविधिक टोलीको प्रतिवेदनपछि स्पष्ट हुनेछ।

    यदि सरकारले आधुनिक प्रविधि, व्यावसायिक व्यवस्थापन, पारदर्शी सञ्चालन प्रणाली र बजारमुखी उत्पादनलाई प्राथमिकता दिएर उद्योग पुनः सञ्चालन गर्न सके बुटवल धागो कारखाना पश्चिम नेपालको औद्योगिक पुनर्जागरणको महत्वपूर्ण आधार बन्न सक्ने अपेक्षा गरिएको छ।

    २०८३, श्रावण २६ मंगलवार११:२२:१५

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार