राष्ट्रियसभाको बैठक बस्दै, सात संसदीय समितिमा महत्वपूर्ण विषयमा छलफल

राष्ट्रियसभाको बैठक बस्दै, सात संसदीय समितिमा महत्वपूर्ण विषयमा छलफल

२०८३, श्रावण २७ बुधवार

  • 349
    SHARES

  • राष्ट्रियसभाको बैठक बस्दै, सात संसदीय समितिमा महत्वपूर्ण विषयमा छलफल

    काठमाडौँ । सङ्घीय संसद्, राष्ट्रियसभाको बैठक आज अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्दैछ । बैठकमा विभिन्न महत्वपूर्ण विधेयक तथा समसामयिक विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

    बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले ‘आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक, २०८३’ पेस गर्ने कार्यसूची रहेको छ ।

    त्यसैगरी, राष्ट्रियसभाका सचिव तुलबहादुर कँडेलले ‘नेपाल विशेष सेवा ऐन, २०४१ को साविकको व्यवस्था जगाउनेसम्बन्धी विधेयक, २०८३’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभासमक्ष टेबुल गर्नेछन् ।

    कृषि, वन तथा पर्यावरणमन्त्री गिता चौधरीले ‘सङ्क्रामक पशुरोग नियन्त्रण विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीसमेत रहेको छ ।

    यसैबीच, आज प्रतिनिधिसभा तथा राष्ट्रियसभाअन्तर्गतका विभिन्न सात संसदीय समितिका बैठक पनि बस्दैछन् । ती बैठकमा वित्तीय सङ्घीयता, मानव अधिकार, सामाजिक संस्था, विधि विज्ञान, सरकारी खर्च, जलवायु परिवर्तनलगायत महत्वपूर्ण विषयमा छलफल हुँदैछ ।

    बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका हालसम्मका कामकारबाही, वित्तीय सङ्घीयता कार्यान्वयनमा आयोगको भूमिका, समस्या तथा चुनौती र आयोगका सिफारिस कार्यान्वयनको अवस्था बारे छलफल हुनेछ ।

    कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा विभिन्न कारागार तथा हिरासतमा रहेका थुनुवा एवं कैदीबन्दीहरूको मानव अधिकारको अवस्थासम्बन्धी अध्ययन उपसमिति, २०८३ को प्रतिवेदन पेस गरी छलफल गरिनेछ ।

    कारागार तथा हिरासतमा रहेका व्यक्तिको मानव अधिकारको अवस्था, कानुनी संरक्षण र सुधारका विषयमा समितिले प्रतिवेदनका आधारमा आवश्यक छलफल गर्नेछ ।

    महिला तथा सामाजिक मामिला समितिको बैठक बिहान ११ बजे बस्नेछ । बैठकमा बालगृह, बाल सुधार गृह, महिला सुरक्षित आवास गृह, वृद्धाश्रम तथा अन्य सामाजिक संस्थाहरूको संस्थागत अवस्था तथा अनुगमनबाट प्राप्त निष्कर्ष माथि छलफल हुनेछ ।

    शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बिहान ११ बजे बस्ने बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला ९स्थापना र सञ्चालन० विधेयक, २०८१’ का सम्बन्धमा छलफल गरिनेछ ।

    अपराह्न १ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा गृह मन्त्रालयसँग सम्बन्धित उजुरीहरू माथि छलफल हुने कार्यसूची रहेको छ ।

    समितिले मन्त्रालयसँग सम्बन्धित उजुरी, त्यसको कार्यान्वयन अवस्था तथा सार्वजनिक स्रोतको उपयोगसँग जोडिएका विषयमा आवश्यक जानकारी लिनेछ ।

    विकास, आर्थिक मामिला तथा सुशासन समितिको बिहान ११ बजे बस्ने बैठकमा विगतका कोप सम्मेलनमा भएका निर्णय तथा सम्झौता र तिनको कार्यान्वयनको अवस्था बारे छलफल हुनेछ ।

    त्यसैगरी, ती निर्णय कार्यान्वयनका लागि नेपाल सरकारले गरेका कामकारबाहीका सम्बन्धमा पनि सम्बन्धित अधिकारीसँग जानकारी लिइनेछ ।

    समितिले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तन सम्मेलन (कोप–३१) मा नेपालको सहभागिताका लागि भइरहेको तयारी का विषयमा समेत सरकारका सम्बन्धित अधिकारीसँग जानकारी लिने कार्यक्रम रहेको छ ।

    यसरी आजको संसदीय गतिविधिमा विधेयक निर्माणदेखि वित्तीय सङ्घीयता, मानव अधिकार, सामाजिक संरक्षण, सार्वजनिक खर्चको निगरानी तथा जलवायु परिवर्तनसम्मका महत्वपूर्ण विषय प्राथमिकतामा पर्ने देखिएको छ ।

    २०८३, श्रावण २७ बुधवार११:२४:१५

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार