ग्याँस अभावप्रति सरकारको ध्यानाकर्षण, समस्या तत्काल समाधान गर्न सांसदहरूको माग

ग्याँस अभावप्रति सरकारको ध्यानाकर्षण, समस्या तत्काल समाधान गर्न सांसदहरूको माग

२०८३, श्रावण २७ बुधवार

  • 361
    SHARES

  • ग्याँस अभावप्रति सरकारको ध्यानाकर्षण, समस्या तत्काल समाधान गर्न सांसदहरूको माग

    काठमाडौँ । राष्ट्रिय सभाका सांसदहरूले देशभर खाना पकाउने ग्याँसको अभाव देखिएको भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्। ग्याँसका लागि घण्टौँसम्म लाइन बस्दा पनि उपभोक्ताले ग्याँस नपाउने अवस्था सिर्जना भएको भन्दै सांसदहरूले तत्काल समस्या समाधान गर्न सरकारसँग माग गरेका हुन्।

    राष्ट्रिय सभाको बुधबार बसेको बैठकमा सांसदहरूले ग्याँसको अभावका कारण सर्वसाधारणको दैनिक जनजीवन प्रभावित भएको बताएका छन्। उनीहरूले ग्याँस नपाउँदा कतिपय नागरिक खाना पकाउन नसक्ने र भोकै बस्नुपर्ने अवस्था आएको उल्लेख गर्दै सरकारसँग जवाफ माग गरे।

    सांसदहरूले सरकारले बजारमा ग्याँसको अभाव नरहेको दाबी गर्दै आए पनि व्यवहारमा उपभोक्ताले घण्टौँ लाइनमा बस्नुपरेको बताएका छन्। वास्तविक अवस्था पहिचान गरी आपूर्ति व्यवस्था सहज बनाउन तथा समस्या तत्काल समाधान गर्न उनीहरूले राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालमार्फत सरकारलाई रुलिङ गर्न माग गरेका छन्।

    बैठकमा सांसदहरूले दलित समुदायका केही व्यक्तिहरूले माइतीघरमा धर्ना दिइरहेको विषयमा समेत सरकारको ध्यानाकर्षण गराएका छन्। उनीहरूले नागरिकका माग र समस्यालाई बेवास्ता नगरी वार्ता तथा संवादमार्फत समाधान खोज्न सरकारसँग आग्रह गरे।

    यसैगरी, सुनसरीको देवानगञ्जमा भएको घटनालाई सांसदहरूले गम्भीर रूपमा लिँदै निष्पक्ष छानबिनको माग गरेका छन्। घटनाको सत्यतथ्य पत्ता लगाउन न्यायिक समितिमार्फत निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कानुनी कारबाही गर्नुपर्ने उनीहरूको भनाइ छ।

    सांसदहरूले कुनै पनि जाति वा धर्मका नाममा हुने हिंसा तथा सामाजिक विभाजनलाई रोक्न सरकार गम्भीर हुनुपर्ने बताएका छन्। सामाजिक सद्भाव कायम गर्दै घटनाको दीर्घकालीन समाधान खोज्न उनीहरूले आग्रह गरेका छन्।

    त्यस्तै, सिरहाको गोलबजारमा भएको आगजनीबाट ठूलो आर्थिक क्षति भएको विषयमा पनि सांसदहरूले सरकारको ध्यानाकर्षण गराएका छन्। आगजनीबाट क्षति भएका नागरिकका घर तथा सम्पत्तिको उचित क्षतिपूर्ति उपलब्ध गराउन र नागरिकको आस्थाको धरोहरमाथि हुने यस्ता आक्रमणभविष्यमा दोहोरिन नदिने सुनिश्चितता गर्न उनीहरूले सरकारसँग माग गरेका छन्।

    सांसदहरूले खाद्यान्न तथा खाना पकाउने ग्याँसजस्ता अत्यावश्यक वस्तुको नियमित आपूर्ति सुनिश्चित गर्नु सरकारको प्राथमिक दायित्व भएको भन्दै नागरिकलाई अनावश्यक दुःख र सास्तीबाट मुक्त गर्न तत्काल प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।

    २०८३, श्रावण २७ बुधवार०३:२६:४०

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार