युक्रेनका पूर्वरक्षामन्त्री मिखाइलो फेदोरोभले युद्धकै बीचमा राष्ट्रपतीय निर्वाचन गराउन माग गरेका छन्। उनको यो मागलाई सन् २०२२ को फेब्रुअरीमा रुसले युक्रेनमाथि आक्रमण सुरु गरेयता राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको नेतृत्वका लागि अहिलेसम्मकै ठूलो चुनौतीका रूपमा हेरिएको छ।
३५ वर्षीय फेदोरोभले मंगलबार युट्युबमा सार्वजनिक गरेको भिडियोमा भनेका छन्, ‘लोकतन्त्रलाई रुसको बन्धक बनाउन सकिँदैन।’ उनका अनुसार युक्रेनले युद्ध गरिरहेको मुख्य कारण नै आफूहरू स्वतन्त्र युरोपेली राष्ट्रका रूपमा रहन चाहनु हो।
रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेदेखि युक्रेनमा मार्सल ल (सैनिक शासन) लागू छ। यही कारण त्यहाँ निर्वाचन स्थगित गरिएको छ।
फेदोरोभले आफ्नो भिडियोमा जेलेन्स्कीको नाम भने लिएनन्। उनलाई गत जुलाईको अन्त्यमा रक्षामन्त्री पदबाट अप्रत्याशित रूपमा हटाइएको थियो। रक्षामन्त्री बनेको केवल ६ महिनामै उनको पद खोसिएको थियो।
फेदोरोभको भिडियोप्रति जेलेन्स्कीले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन्। उनको बर्खास्तीपछि भने युक्रेनभर विरोध प्रदर्शनसमेत भएका थिए। उनी लोकप्रिय मन्त्रीका रूपमा रहेका थिए।
भ्रष्टाचारविरुद्ध अभियान र युद्धमा प्रविधिको प्रयोग
रक्षामन्त्रीका रूपमा फेदोरोभले मन्त्रालयमा नयाँ ऊर्जा भरेको श्रेय पाएका थिए। उनले भ्रष्टाचारविरुद्ध अभियान सञ्चालन गर्नुका साथै तथ्यांकको प्रयोग गरेर युद्धमैदानमा युक्रेनी सेनाको कार्यसम्पादन सुधार्ने प्रयास गरेका थिए।
उनको बर्खास्तीलाई सेना प्रमुख ओलेक्सान्द्र सिर्स्की र फेदोरोभबीच बढेको तनावसँग जोडेर हेरिएको थियो। फेदोरोभलाई हटाएको केही सातापछि सिर्स्कीलाई पनि पदबाट हटाइएको थियो। यसबीच भएको लगातारको विरोधले राष्ट्रपति जेलेन्स्कीमाथि दबाब बढाएको थियो।
तर फेदोरोभले आफ्नो पछिल्लो भिडियोमा आफूले भविष्यमा राजनीति गर्ने वा नगर्नेबारे कुनै संकेत दिएका छैनन्। उनले मुख्य रूपमा लामो समयसम्म युद्ध जारी रहे पनि युक्रेनमा लोकतान्त्रिक प्रक्रिया पुनःस्थापित गर्न ‘कानुनी, सुरक्षित र व्यावहारिक संयन्त्र’ आवश्यक रहेको बताएका छन्।
उनले युक्रेन शासन व्यवस्थाको प्रणालीगत संकटमा फसेको र देश परिवर्तनसँग डराइरहेको पनि बताएका छन्। भ्रष्टाचारले युक्रेनको युद्ध प्रयासलाई कमजोर बनाइरहेको उनको भनाइ थियो।
जेलेन्स्कीले फेदोरोभलाई हटाएपछि कम राजनीतिक प्रभाव भएका करिअर इन्टेलिजेन्स अधिकारी येभगेनी खमारालाई कार्यवाहक रक्षामन्त्री नियुक्त गरेका छन्। सरकारका अन्य पदहरू पनि फेदोरोभलाई प्रस्ताव गरिएको थियो। उनलाई सैन्य नवप्रवर्तन हेर्ने उपप्रधानमन्त्री बन्न प्रस्ताव गरिएको थियो। तर ३५ वर्षीय फेदोरोभले आफू रक्षामन्त्रीकै रूपमा मात्र सरकारमा फर्किन तयार रहेको बताएका छन्।
‘आईटी आर्मी’देखि ड्रोन युद्धसम्म
रक्षामन्त्री बन्नुअघि फेदोरोभ डिजिटल रूपान्तरणमन्त्री थिए। रुसले युक्रेनमाथि पूर्णस्तरको आक्रमण सुरु गरेको सुरुवाती दिनमै उनले स्वयंसेवकहरूको आईटी आर्मी अफ युक्रेन गठन गरेका थिए। यसले रुसी पक्षविरुद्ध साइबर आक्रमणहरू सञ्चालन गरेको थियो।
पछि उनले आर्मी अफ ड्रोन नामक सफल कोष सङ्कलन अभियानको नेतृत्व गरे। युद्धमा ‘गेमिफिकेसन’ अर्थात् खेलमा प्रयोग हुने अंक र पुरस्कारको अवधारणासमेत भित्र्याउँदै उनले रुसी सैन्य लक्ष्यमा सफल प्रहार गर्ने युक्रेनी सैन्य इकाइलाई क्रेडिट प्रदान गर्ने प्रणाली विकास गरेका थिए।
रक्षामन्त्री बनेपछि पनि ड्रोन, अत्याधुनिक युद्ध प्रविधि र सैन्य सामग्री खरिद उनको प्राथमिकतामा रहे। उनले स्पेसएक्सका संस्थापक एलन मस्कलाई रुसी सेनाले ड्रोन आक्रमणका लागि स्टारलिंक स्याटेलाइट प्रयोग गर्न नदिने व्यवस्था गर्न आग्रहसमेत गरेका थिए।
उनका यस्ता कदमले रुसी सेनाको युद्धमैदानमा सञ्चालन र अग्रगतिको क्षमतामा उल्लेखनीय अवरोध सिर्जना गरेको श्रेय फेदोरोभलाई दिइएको छ।
रक्षामन्त्री पदबाट हटाइएपछि फेसबुकमा लेख्दै फेदोरोभले आफ्नो कार्यकालका उपलब्धिहरू सार्वजनिक गरेका थिए। उनले असमान युद्ध रणनीति, नवप्रवर्तनको गति र संगठनात्मक क्षमतामार्फत शत्रुलाई पराजित गर्ने काम जारी राख्ने बताएका थिए।
अब भने उनको राष्ट्रपतीय निर्वाचनको मागले युक्रेनको युद्धकालीन राजनीति थप पेचिलो बनाएको छ। युद्ध जारी रहेको अवस्थामा निर्वाचन सम्भव कसरी बनाउने भन्ने प्रश्नसँगै फेदोरोभको यो कदमले जेलेन्स्कीको नेतृत्व र युक्रेनको लोकतान्त्रिक प्रक्रियामाथि नयाँ बहस सुरु गराएको छ। -एजेन्सी ।