काठमाडौं । नेपाली महिलाहरूको महान् सांस्कृतिक पर्व हरितालिका तीजको अवसरमा मिनभवन महिला समूहले भव्य तीज विशेष कार्यक्रम आयोजना गरेको छ। महिलाहरूबीच आपसी आत्मीयता, एकता, सद्भाव र भाइचाराको भावना अभिवृद्धि गर्ने उद्देश्यले समूहले हरेक वर्षझैँ यस वर्ष पनि तीज मिलन तथा शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको हो।
शनिबार काठमाडौंको बानेश्वरस्थित ओम शान्ति पार्टी प्यालेसमा आयोजित कार्यक्रममा मिनभवन–बानेश्वर क्षेत्रका महिला तथा पुरुषहरूको उत्साहजनक सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी महिलाहरूले तीजका गीतमा नाचगान गर्दै एकआपसमा शुभकामना तथा खुसी साटासाट गरेका थिए।
कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नं. ३१ का अध्यक्ष सरोज ढकाल तथा प्रदेश सांसद सुरजचन्द्र लामिछाने विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

गतिशील तथा समाजसेवी महिला संगिता बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा करिब चार सयभन्दा बढी महिला तथा पुरुषको सहभागिता रहेको आयोजकले जनाएको छ।
कार्यक्रममा बोल्दै अध्यक्ष बस्नेतले वर्षभरि घरपरिवार, कार्यालय तथा सामाजिक जिम्मेवारीमा व्यस्त रहने महिलाहरूलाई तीजजस्ता पर्वले केही समय भए पनि आफ्ना दिदीबहिनी तथा साथीहरूसँग रमाउने, भावना साट्ने र आपसी सम्बन्धलाई अझ प्रगाढ बनाउने अवसर प्रदान गर्ने बताइन्।
“वर्षभरि मेसिनझैँ निरन्तर काममा व्यस्त रहने महिला दिदीबहिनीहरू तीजको अवसरमा एउटै छानामुनि भेला भएर रमाउँदा मनमा नयाँ ऊर्जा थपिन्छ। यस्ता कार्यक्रमले आपसी भाइचारा, सद्भाव र एकतालाई अझ बलियो बनाउँछ,” अध्यक्ष बस्नेतले भनिन्।

उनले तीज केवल नाचगान र मनोरञ्जनको पर्व मात्र नभई महिला–महिलाबीचको आत्मीयता, पारिवारिक प्रेम, सामाजिक एकता र सांस्कृतिक पहिचानलाई जोड्ने महत्वपूर्ण अवसर भएको बताइन्।
मिनभवन महिला समूहले आयोजना गरेको कार्यक्रमले तीजको सांस्कृतिक उल्लाससँगै महिला एकता, सामाजिक सद्भाव र सामुदायिक सम्बन्धलाई समेत प्राथमिकता दिएको देखिएको थियो। कार्यक्रममा विशेष अतिथिद्धय लगायतका सहभागी अतिथिहरुले शुभकामना मन्तव्य राखेका थिए ।