गिनीको ल्यान्डफिलमा पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु ,गरिबी र अव्यवस्थित बस्तीको चुनौती

गिनीको ल्यान्डफिलमा पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु ,गरिबी र अव्यवस्थित बस्तीको चुनौती

२०८३, भाद्र ८ सोमवार

  • 329
    SHARES

  • गिनीको ल्यान्डफिलमा पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु ,गरिबी र अव्यवस्थित बस्तीको चुनौती

    कोनाक्री । गिनीको राजधानी कोनाक्रीस्थित सबैभन्दा ठूलो ल्यान्डफिलमा पहिरो जाँदा कम्तीमा ३० जनाको मृत्यु भएको छ। घटनामा छ जना गम्भीर घाइते भएका छन् भने आसपासका बस्तीका धेरै घरमा क्षति पुगेको सरकारी अधिकारीहरूले बताएका छन्।

    आइतबार बिहान करिब २ बजेदेखि परेको भारी वर्षापछि दार एस सलामस्थित ल्यान्डफिलमा थुपारिएको फोहोरको ठूलो भाग भत्किएर बस्तीमा खसेको थियो। फोहोरसँगै आएको पहिरोले ल्यान्डफिल आसपासका झुपडी तथा घरहरू पुरिएका थिए।

    घटनापछि सुरक्षाकर्मी तथा उद्धार टोलीले पुरिएका मानिसको खोजी र उद्धार कार्य जारी राखेका छन्। मृतकको सङ्ख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन्।

    सैन्य इन्जिनियरिङ बटालियनका सरसफाइ अधिकारी लेफ्टिनेन्ट कर्नल बाल्डे मामाडोउ बैलोका अनुसार उक्त ल्यान्डफिल आइतबारदेखि बन्द गर्ने तयारी गरिएको थियो। ल्यान्डफिल आसपास बसोबास गर्दै आएका स्थानीयलाई यसअघि नै सुरक्षित स्थानमा स्थानान्तरण हुन सूचना दिइएको थियो।

    तर, स्थानान्तरण प्रक्रिया पूरा नहुँदै पहिरो गएपछि ठूलो मानवीय क्षति भएको हो।

    क्षेत्रीय प्रशासन तथा विकेन्द्रीकरण मन्त्री डिएनाबोउ टुरेले घटनास्थलको निरीक्षण गर्दै बाँकी परिवारलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिने बताउनुभएको छ। स्थानीय प्रशासनले प्रभावित परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने तयारीसमेत गरेको छ।

    गिनी खनिज स्रोतमा धनी मुलुक भए पनि गरिबी र पूर्वाधारको अभावको चुनौतीबाट गुज्रिरहेको छ। मुलुकमा विश्वकै ठूलो बक्साइट भण्डारमध्ये एक रहेको छ भने फलाम, सुन र हीराजस्ता बहुमूल्य खनिजसमेत पाइन्छन्।

    तर, विश्व बैंकका अनुसार गिनीको ४३.७ प्रतिशत जनसङ्ख्या राष्ट्रिय गरिबीको रेखामुनि रहेको छ। राजधानी कोनाक्रीमा तीव्र जनसङ्ख्या वृद्धि, अव्यवस्थित बस्ती र फोहोर व्यवस्थापनसम्बन्धी समस्याले जोखिम बढाउँदै आएको छ।

    ल्यान्डफिलमा भएको पछिल्लो दुर्घटनाले सुरक्षित फोहोर व्यवस्थापन, जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीको स्थानान्तरण तथा सहरी पूर्वाधार सुधारको आवश्यकता पुनः उजागर गरेको छ।एजेन्सी।

    २०८३, भाद्र ८ सोमवार१२:३८:५०

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार