काठमाडौँ । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित २५ जनाको नेपाली सेनाले उद्धार गरेको छ।
बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई तीव्रता दिँदै सेनाले रसुवाको टिमुरे, स्याफ्रुबेँसी तथा नुवाकोटको त्रिशूली क्षेत्रबाट उनीहरूको उद्धार गरेको हो।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार बाढी प्रभावितको खोज, उद्धार तथा प्रतिकार्यका लागि नेपाली सेनाका ६ र निजी क्षेत्रका ८ गरी १४ वटा हेलिकप्टर प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।
परिचालित हेलिकप्टरमार्फत आवश्यकता र जोखिमको अवस्थाअनुसार घाइते तथा बाढी प्रभावित नागरिकको उद्धार, राहत सामग्री ढुवानी तथा अन्य आवश्यक सहयोग उपलब्ध गराइने सेनाले जनाएको छ।
त्रिशूलीमा विशेषज्ञ चिकित्सकको टोली तैनाथ
बाढीका कारण घाइते तथा बिरामीको उपचारमा समस्या नहोस् भनेर नेपाली सेनाले दुई जना सर्जनसहित २० जना विशेषज्ञ चिकित्सकको टोली त्रिशूलीस्थित मैथली ब्यारेकमा तैनाथ गरेको छ।
त्रिशूली अस्पतालसँगको सडक सम्पर्क टुटेपछि प्रभावित तथा घाइतेलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले ब्यारेकमै चिकित्सकीय टोली परिचालन गरिएको सेनाले जनाएको छ।
सेनाको चिकित्सकीय टोलीले आकस्मिक उपचार, घाइतेको स्वास्थ्य परीक्षण तथा आवश्यक उपचार सेवा प्रदान गरिरहेको छ।
भोटेकोशी नदीमा आएको बाढीपछि रसुवा, नुवाकोटलगायत प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य जारी छ। जोखिमयुक्त क्षेत्रमा रहेका नागरिकको उद्धार तथा राहतका लागि सुरक्षा निकाय र सम्बन्धित निकायहरूबीच समन्वय भइरहेको जनाइएको छ।
सेनाले बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ निरन्तरता दिइरहेको जनाएको छ।