काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण एक पत्रकारसहित एक पत्रकारका परिवारका पाँच सदस्य सम्पर्कविहीन भएका छन् ।
नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा समाचार सङ्कलनका क्रममा केरुङ हुँदै तिब्बततर्फ गएका पत्रकार टेकराज थामी केरुङबाट सम्पर्कविहीन भएको जानकारी उनका परिवारले महासङ्घलाई गराएको छ ।
महासङ्घका अनुसार थामी समाचार सङ्कलनका लागि केरुङ पुगेका बेला बाढी आएको हो । बाढीपछि उनिसँग सम्पर्क हुन नसकेको परिवारले जनाएको छ ।
यस्तै, नुवाकोटको विदुर–७ बाट पत्रकार निराजन पौडेलका परिवारका पाँच सदस्य पनि सम्पर्कविहीन भएका छन् । सम्पर्कविहीन हुनेमा पौडेलका बुबा, आमा, काका, काकी र बहिनी रहेका छन् ।
खोजी तथा उद्धार तीव्र बनाउन महासङ्घको माग
नेपाल पत्रकार महासङ्घले सम्पर्कविहीन भएका पत्रकार तथा परिवारका सदस्यहरूको तत्काल खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन सम्बन्धित निकायसँग माग गरेको छ ।
महासङ्घले विपद्को समयमा खोजी तथा उद्धारलाई प्रभावकारी बनाउन सुरक्षा निकाय, स्थानीय प्रशासन तथा सम्बन्धित सबै संयन्त्रबीच तत्काल समन्वय आवश्यक रहेको जनाएको छ ।
विद्युत् आपूर्ति बन्द हुँदा सञ्चार सेवा प्रभावित
बाढी प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुँदा सञ्चार सेवा समेत अवरुद्ध भएको महासङ्घले जनाएको छ । सञ्चार सम्पर्क विच्छेद हुँदा प्रभावित क्षेत्रको वास्तविक अवस्था बुझ्न तथा सम्पर्कविहीन व्यक्तिको खोजी गर्न थप कठिनाइ भएको बताइएको छ ।
महासङ्घले प्रभावित क्षेत्रमा सञ्चार सेवा यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक व्यवस्था मिलाउन सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ ।
साथै, सञ्चारमाध्यमलाई नियमित रूपमा समाचार सम्प्रेषण गर्न सहज हुने गरी वैकल्पिक सञ्चार तथा विद्युत् व्यवस्थाका लागि आवश्यक सहयोग गर्न सरोकारवाला निकायसँग महासङ्घले अपिल गरेकोछ ।
भोटेकोशी बाढीपछि ठूलो जनधनको क्षति भइरहेका बेला पत्रकारसहित सर्वसाधारण सम्पर्कविहीन भएको घटनाले खोजी तथा उद्धार कार्यलाई थप तीव्र र समन्वयात्मक बनाउनुपर्ने आवश्यकता देखिएको छ ।
