बिर्तामोड । पुष्पलाल इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आफ्नो संस्थापक शेयर पूँजी ६० करोड रुपैयाँ पुर्याउने भएको छ।
बिर्तामोडस्थित इन्द्रेणी ब्याङ्क्वेटमा शनिबार सम्पन्न कम्पनीको छैटौँ वार्षिक साधारण सभाले हाल कायम रहेको २८ करोड रुपैयाँको पूँजी वृद्धि गरी ६० करोड पुर्याउने विशेष प्रस्ताव पारित गरेको हो।
ऊर्जा क्षेत्रमा लगानी विस्तार गर्ने उद्देश्यका साथ २०७१ सालमा ‘पुष्पलाल स्मृति ऊर्जा सहकारी’को रूपमा स्थापित यो संस्था २०७७ सालमा पब्लिक लिमिटेड कम्पनीमा रूपान्तरण भएको थियो। कम्पनीले यसअघि नै सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आइपीओ) जारी गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गरिसकेको छ।
हाल कम्पनीमा व्यवसायी नारायण बजाज र टेम्पा शेर्पाको सबैभन्दा बढी (प्रतिव्यक्ति २५ हजार कित्ता) शेयर स्वामित्व रहेको छ। लालप्रसाद सावाँको अध्यक्षतामा सम्पन्न सभामा प्रस्तुत वित्तीय प्रतिवेदन अनुसार कम्पनीले विभिन्न जलविद्युत् तथा व्यावसायिक परियोजनाहरूमा लगानी विस्तार गरेको छ।
जसमा गोरक्ष हाइड्रोपावरमा ५ करोड ३० लाख, काबेली इनर्जीमा ५ करोड, लुकाई भिलेजमा ४ करोड, लालुपाते हाइड्रोपावरमा २ करोड २० लाख र किसान नेट प्रालिमा ५० लाख रुपैयाँ लगानी रहेको छ। उक्त वित्तीय प्रतिवेदन चार्टर्ड एकाउन्टेन्ट सरोज श्रेष्ठले प्रस्तुत गरेका थिए।
बिर्तामोड नगर प्रमुख तथा कम्पनीकी लगानी सहजकर्ता पवित्रा महतारा प्रसाईंले स्वागत मन्तव्य व्यक्त गरेको उक्त कार्यक्रमको सञ्चालन कम्पनी सचिव भीम लिवाङले गरेका थिए।