भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, खोजी–उद्धार र राहतमा तीव्रता

भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, खोजी–उद्धार र राहतमा तीव्रता

२०८३, भाद्र १६ मंगलवार

  • 437
    SHARES

  • भोटेकोशी बाढी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, खोजी–उद्धार र राहतमा तीव्रता

    काठमाडौँ । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी, उद्धार, जनधनको सुरक्षा तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन नेपाल प्रहरीले देशभरबाट ७ हजार ९९२ प्रहरी परिचालन गरेको छ।

    बाढीबाट प्रभावित क्षेत्रमा सम्भावित थप जोखिम न्यूनीकरण तथा नागरिकको सुरक्षा सुनिश्चित गर्न विभिन्न प्रदेश प्रहरी कार्यालय तथा प्रहरीका विशेष युनिटबाट ठूलो संख्यामा जनशक्ति परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।

    ७ हजारभन्दा बढी प्रहरी फिल्डमा

    प्रहरीका अनुसार प्रहरी प्रधान कार्यालयबाट १ हजार ६०२, बागमती प्रदेश प्रहरी कार्यालयबाट २ हजार १८२, गण्डकी प्रदेशबाट १ हजार ३०९, लुम्बिनी प्रदेशबाट ६४० तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालयबाट ७५४ जना प्रहरी परिचालन भएका छन्।त्यस्तै, प्रहरी अस्पताल महाराजगञ्जबाट ३९७, राप्रप्रप्र महाराजगञ्जबाट ४५०, प्रहरी शिक्षालयबाट ३५६ तथा प्रयुताके जर्गाहबाट २२२ जना प्रहरी उद्धार तथा व्यवस्थापन कार्यमा खटिएका छन्।

    विपद्को समग्र अवस्थाको तत्काल समन्वय गर्न प्रहरी प्रधान कार्यालयमा ‘आपत्कालीन समन्वय केन्द्र’ स्थापना गरिएको छ। साथै, विपद्सम्बन्धी सूचना तथा तथ्यांक व्यवस्थापन र उद्धार कार्यलाई समन्वय गर्न प्रहरी नायब महानिरीक्षक (डीआईजी) को नेतृत्वमा २४ घण्टा सञ्चालन हुने ‘विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्र’ गठन गरिएको छ।

    अस्पतालदेखि विमानस्थलसम्म विशेष प्रहरी टोली

    बाढीमा घाइते भएकाको उपचार तथा मृतकका परिवारसँग समन्वय गर्न प्रहरीले विभिन्न अस्पताल र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फोकल डेस्क स्थापना गरेको छ।

    घाइते तथा शव व्यवस्थापनका लागि वीर अस्पतालमा ३०, सिभिल अस्पतालमा १३, काठमाडौँ मेडिकल कलेजमा ५ तथा त्रिभुवन शिक्षण अस्पतालमा डीआईजीको नेतृत्वमा ६२ जना प्रहरी परिचालन गरिएको छ।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देशी तथा विदेशी नागरिकका शव व्यवस्थापन तथा घाइतेको विवरणसंकलनका लागि प्रहरी उपरीक्षक (एसपी)को नेतृत्वमा ८ सदस्यीय टोली परिचालन गरिएको प्रहरीले जनाएको छ।

    ड्रोन, तालिमप्राप्त कुकुर र स्याटेलाइट फोनबाट खोजी

    दुर्गम तथा पैदल पुग्न कठिन क्षेत्रमा खोजी कार्यलाई तीव्रता दिन प्रहरीले आधुनिक प्रविधिको प्रयोग बढाएको छ।

    रसुवा, नुवाकोट र धादिङमा १२ वटा ड्रोन परिचालन गरी निगरानी तथा खोजी कार्य भइरहेको छ। त्यसैगरी, सम्भावित पीडितको खोजीका लागि ५ वटा तालिमप्राप्त कुकुर परिचालन गरिएको छ।

    सञ्चार सम्पर्क विच्छेद भएका दुर्गम क्षेत्रमा सूचना आदानप्रदान सहज बनाउन ७ वटा स्याटेलाइट फोन प्रयोगमा ल्याइएको छ।

    घटनास्थल अनुसन्धान तथा मुचुल्काका लागि ६७ जना, विभिन्न जिल्लामा शव पहिचान तथा व्यवस्थापनका लागि ७१५ जना प्रहरी परिचालन भएका छन्।घटनास्थलको वैज्ञानिक अनुसन्धानका लागि ‘सिन अफ क्राइम अफिसर’ सहितको टोली तथा शव पहिचानका लागि डीएनएलगायत वैज्ञानिक परीक्षण गर्न फरेन्सिक विज्ञहरूको टोलीसमेत परिचालन गरिएको छ। घाइतेको तत्काल उपचारका लागि नेपाल प्रहरी अस्पतालका विशेषज्ञ चिकित्सकहरू पनि प्रभावित क्षेत्रमा खटिएका छन्।

    विपद्को मौका छोपेर अपराध गर्नेहरू पक्राउ

    बाढीपछि चोरी, लुटपाट तथा ठगीजस्ता आपराधिक गतिविधि हुन नदिन प्रहरीले सुरक्षा निगरानी कडा बनाएको छ।

    चितवनमा नारायणी नदीले बगाएर ल्याएको एक महिलाको शवबाट सुनको मुन्द्रा तथा गहना निकाल्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरीले अनुसन्धान गरी मदनपुरका २५ वर्षीय मदन गुरुङ र ३८ वर्षीय उमेश चौधरीलाई पक्राउ गरेको जनाएको छ।

    त्यस्तै, धादिङको गल्छी–४, बेल्खुखोलास्थित त्रिशूली नदी किनारमा बाढीले बगाएर ल्याएको बैंकको सेफ तोडेर नगद रकम हिनामिना गरेको आरोपमा २९ जना स्थानीयलाई नियन्त्रणमा लिइएको छ। उनीहरूबाट ९२ लाख ६८ हजार ५०५ रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।बाढीपीडितका नाममा नक्कली पोस्ट बनाएर फेसबुकमार्फत रकम असुल गर्न खोजेको आरोपमा रामेछाप गोकुलगंगा–२, ठोसे बजारका ३२ वर्षीय सृजन कार्की पक्राउ परेका छन्।

    बाढीले बगाएका सेफ खोज्दै प्रहरी

    धादिङको गल्छी–६, बैरेनी बजारमा सडक सफा गर्ने क्रममा बालुवा र लेदोले पुरिएको अवस्थामा १९ इन्च लम्बाइ र १६ इन्च चौडाइको बन्द सेफ फेला परेको छ। उक्त सेफ प्रहरी चौकी बैरेनीमा सुरक्षित राखिएको प्रहरीले जनाएको छ।

    त्यसैगरी, परेवाटार–मलेखु त्रिशूली नदीको बगरमा अर्को सेफ फेला परेको छ भने मलेखु खोलामा देखिएको अर्को सेफ निकाल्ने प्रयास भइरहेको छ।

    नारायणी आसपास ७५७ प्रहरी परिचालन

    बाढीको बहाव पहाडी क्षेत्रबाट तराईतर्फ बढ्दै जाने सम्भावनालाई मध्यनजर गर्दै प्रहरीले सम्भावित जोखिम क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ।चितवनको नारायणी नदी आसपास मात्रै ७५७ प्रहरी परिचालन गरिएको छ। बाढीबाट सिर्जित भौतिक अवरोध हटाउने तथा नदीले बगाएर ल्याएका सामग्री व्यवस्थापनमा समेत प्रहरी सक्रिय रहेको जनाएको छ।

    नेपाल प्रहरीले विपद्को यस संवेदनशील अवस्थामा नागरिकको सुरक्षा, खोजी तथा उद्धार, राहत वितरणमा सहजीकरण र सम्भावित आपराधिक गतिविधि नियन्त्रणलाई प्राथमिकतामा राखेको जनाएको छ।

    प्रहरीले प्रभावित क्षेत्रका नागरिकलाई संयमित रहन, जोखिमयुक्त स्थानमा नजान तथा सुरक्षाकर्मीको निर्देशन पालना गर्न आग्रह गरेको छ।

     

    २०८३, भाद्र १६ मंगलवार०२:०६:५३

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार