काठमाडौं । सांसद श्रीराम न्यौपानेले त्रिशूली थ्री ए सुरुङभित्रबाट मान्छेको आवाज आएको बताउनुभएको छ ।
सुरुङ भित्रबाट मानिसको आवाज सुनिएको जानकारी प्राप्त भएपछि उद्धार कार्यलाई थप तीव्रता दिइएको सांसद न्यौपानेले जानकारी दिनुभयो ।
कार्यस्थलमै रहेर उद्धार कार्यमा संलग्न रहनुभएका सांसद न्यौपानेले सामाजिक सञ्जालमा लेख्नुभएको छ, 'भित्रबाट मानिसको आवाज आएको जानकारी उद्दाररत सेनाबाट प्राप्त भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ भित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो।
हिजो साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर उद्धार तथा खोजी कार्यमा संलग्न थिएँ। अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुरसम्म पुग्ने र त्यसपछि गाडी मार्फत काठमाडौं फर्कने तयारीमा छु।
उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मी प्रति हार्दिक सम्मान व्यक्त गर्दछु। आशा छ, सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइनेछ।