सडक डिभिजन काठमाडौँद्वारा ‘सडक सुझाव एप’ सञ्चालनमा, गुनासोको अवस्था मोबाइलबाटै हेर्न मिल्ने

सडक डिभिजन काठमाडौँद्वारा ‘सडक सुझाव एप’ सञ्चालनमा, गुनासोको अवस्था मोबाइलबाटै हेर्न मिल्ने

२०८३, आश्विन १ बिहिवार

  • 369
    SHARES

  • सडक डिभिजन काठमाडौँद्वारा ‘सडक सुझाव एप’ सञ्चालनमा, गुनासोको अवस्था मोबाइलबाटै हेर्न मिल्ने

    काठमाडौँ । काठमाडौँ उपत्यकाभित्रका बिग्रिएका सङ्घीय सडकको मर्मतसम्बन्धी गुनासो अब नागरिकले मोबाइल एपमार्फत नै दर्ता गर्न सक्ने भएका छन्। सडक डिभिजन कार्यालय काठमाडौँले सफल परीक्षणपछि ‘सडक सुझाव एप’ औपचारिक रूपमा सञ्चालनमा ल्याएको हो।

    पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन काठमाडौँले सञ्चालनमा ल्याएको उक्त एपमार्फत उपत्यकाभित्रका सङ्घीय सडकको मर्मतसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ।

    एपमा दर्ता गरिएका गुनासोको समाधान प्रक्रिया र अवस्थासमेत नागरिकले प्रत्यक्ष रूपमा हेर्न सक्ने व्यवस्था गरिएको छ। गुनासो सम्बोधन भएपछि त्यसको जानकारीसमेत एपमार्फत प्राप्त हुने सडक डिभिजन कार्यालय काठमाडौँले जनाएको छ।

    ४७२ किलोमिटर सडकबारे गुनासो गर्न सकिने

    हाल ‘सडक सुझाव एप’मार्फत काठमाडौँ उपत्यकाभित्र सङ्घीय सडकअन्तर्गत रहेका करिब ४७२ किलोमिटर सडकसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ।

    सडकमा खाल्डाखुल्डी, सडक बिग्रिएको अवस्था तथा मर्मतसम्बन्धी समस्या देखिएमा नागरिकले एपमार्फत सम्बन्धित निकायलाई जानकारी गराउन सक्नेछन्।

    सङ्घीय सडकअन्तर्गत नपर्ने सडकका सम्बन्धमा भने उक्त सडक कुन निकायको जिम्मेवारीमा पर्छ भन्ने जानकारीसमेत नागरिकलाई उपलब्ध गराइने सडक डिभिजन कार्यालयले जनाएको छ।

    ललितपुर र भक्तपुरमा पनि विस्तार हुँदै

    सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउँदै एपलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारी अघि बढाइएको छ।

    कार्यालयका अनुसार आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई एपमा समावेश गरी सेवा विस्तारगर्ने लक्ष्य राखिएको छ। त्यसपछि क्रमशः देशभर एप सञ्चालनमा ल्याउने तयारी गरिएको छ।

    सडक मर्मतसम्बन्धी गुनासोको दर्ता, अनुगमन र समाधान प्रक्रियालाई डिजिटल माध्यमबाट व्यवस्थित गर्ने उद्देश्यले एप सञ्चालनमा ल्याइएको हो।

    २०८३, आश्विन १ बिहिवार०१:२१:३०

    स्याटेलाईट खबर

    प्रतिक्रिया
    सम्बन्धित समाचार